म ‘छक्का पञ्जा’ टिममा फिट हुँदिन होला : समिर भट्ट

म ‘छक्का पञ्जा’ टिममा फिट हुँदिन होला : समिर भट्ट

काठमाडौं : पहिलो फिल्ममै हिटको स्वाद चाखेका अभिनेता समिर भट्टले आफू ‘छक्का पञ्जा’ टिममा फिट नहुने बताएका छन्।

दर्शक सँगसँगै बसेर फिल्म हेर्ने भन्दै हलमा पुगेका बेला सञ्चारकर्मीले राखेको प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन्। सञ्चारकर्मीले उनलाई ‘छक्का पञ्जा ६ मा अभिनयका लागि अफर आयो भने खेल्नुहुन्छ?’ भनेर सोधेका थिए।

जवाफमा उनले भने, ‘म भयङ्कर कमेडीमा सुहाउँछु जस्तो त मलाई लाग्दैन। यो मेरो कमी हो कलाकारका रुपमा। माग्ने बुढा, दीपकराज गिरीहरूले जस्तो गर्नुहुन्छ नि, त्यस्तो सायद मलाई नसुहाउला है! त्यो मेरो कमजोरी हो। त्यही भएर त्यो फिल्ममा म फिट हुँदिन होला।’

उनको भनाइको सार बुझ्ने हो भने तत्काल उनी एक्सन बाहेकका अन्य जनराका फिल्ममा देखिने मुडमा छैनन्। एक्सन जनरामै बनिरहेको र उनको अभिनय रहेको अर्को फिल्म ‘बलिदान’ निर्माणकै क्रममा छ।

यसपाली दशैंमा समिर अभिनित ‘१२ गाउँ’सँगै दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ५’ र जितु नेपाल अभिनित ‘ज्वाइँ साब’ एकै दिन प्रदर्शनमा आए। जसमा तीनवटै फिल्म बक्सअफिसमा चले।

कात्तिक ६, २०८१ बुधबार १३:५८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।