सत्ता गठबन्धनको बैठकमा रास्वपा आन्दोलनबारे छलफल, प्रधानमन्त्री र गृहमन्त्रीले के भने?
काठमाडौं : प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउपछि आज पहिलो पटक सत्ता गठबन्धनमा सहभागी दलहरुको बैठक बस्यो।
बैठकमा रास्वपाले पोखरामा जारी राखेको प्रदर्शन, राजनीतिक दलसम्बन्धी अध्यादेश र सरकारका १०० दिनको उपलब्धि सार्वजनिक गर्ने बारेमा समेत छलफल भयो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा रास्वपाले जारी राखेको प्रदर्शनलाई लक्षित गरेर अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य नहुने बताए।
‘हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ। अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन,’ उनले भने, ‘जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन लागि आजीवन लाग्ने प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन।’
फरक प्रसङ्गमा ओलीले अध्यादेश ल्याउने विषयमा कुनै तयारी नभएको प्रष्टीकरण दिएको जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इश्तियाक राईले जानकारी दिए।
उनले भने, ‘विपक्षी दलको तर्फबाट ज्ञापनपत्रमा अध्यादेशको विषय ध्यानाकर्षण गराएको विषय आएपछि बैठकमा कुरा उठेको थियो। तर, प्रधानमन्त्रीले अहिले त्यस्तो कुनै जानकारी नभएको बताउनुभएको छ।’
बैठकमा गृहमन्त्री रमेश लेखकले फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला रास्वपाका कार्यकर्ताको प्रदर्शन अदालत र सरकारलाई दबाब दिने हिसाबले भइरहेको बताए। उनले रास्वपाको यो क्रियाकलाप उचित नभएको बताए।
बैठकमा प्र्रधानमन्त्री ओली र गृहमन्त्री लेखकसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत सहभागी थिए।
कात्तिक ७, २०८१ बुधबार १३:३९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।