रास्वपा कार्यकर्ताले बचतकर्ता कुटेको सहकारीका पीडित संघर्ष समितिको आरोप, भोलि पोखरामा प्रदर्शन गर्ने

रास्वपा कार्यकर्ताले बचतकर्ता कुटेको सहकारीका पीडित संघर्ष समितिको आरोप, भोलि पोखरामा प्रदर्शन गर्ने

काठमाडौं : पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडित संघर्ष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले बचतकर्ता कुटेएको आरोप लगाएको छ।

संघर्ष समितिले बुधबार एक विज्ञप्ति निकालेर रास्वपा सभापति पक्राउ परेपछि पार्टीका नेता तथा कार्यकर्ताले पीडित घर-घरमा पुगेर बचतकर्तालाई भड्काउनुका साथै लेखेटेको र कुटेको आरोप लगाएको हो।

अनुसन्धानलाई प्रभाव पार्ने कार्यक्रम दिनँहु गरिएको भन्दै समितिले आपत्ति जनाएको छ। सहकारी ठगी प्रकरणमा जोडिएको जोसुकै भएपनि निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गर्दै संघर्ष समितिले बचतकर्तालाई न्याय दिने कार्यमा लाग्न समेत आग्रह गरेको छ।

रास्वपाका नेता र कार्यकर्ताले पोखराको शान्त बातावरणलाई विथोलेको संघर्ष समितिले विज्ञप्तिमा उल्लेख गरेको छ। पीडितले विगत दुई वर्षमा हार गुहार गर्दा, कैयन पटक ज्ञापन बुझाउँदा रास्वपाले सहकारी पीडितका समस्या नसुनेको संघर्ष समितिले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ,‘आज पार्टी सभापति नै अनुसन्धानको दायरामा आउँदा झोलामा पीडितको पैसा बोकी फिर्ता दिने हो की जस्तो गरी टोलटोलमा गरिएको भाषणले जब पार्टी सभापति प्रकाउ परे तब घैँटोमा घाम लागेजस्तो देखिएको छ।’

रास्वपाको प्रदर्शनको औचित्य नभएको भन्दै संघर्ष समितिले पार्टी सभापति बचाउ अभियानले अनुसन्धानमा प्रभाव परि पीडितलाई सडकमा आउन बाध्य नपार्न समेत चेतथावनी दिएको छ।

सहकारी पीडितको भेला पनि पोखरामा डाकिएको छ। बिहीबार विहान ११ बजे मुस्ताङचोकमा उपस्थित हुने संघर्ष समितिले अनुरोध गरेको छ।

कात्तिक ७, २०८१ बुधबार १२:५८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।