बगरमा बस्ती, खुम्चदो तिनाउ
बुटवल : पूर्व-पश्चिम महेन्द्र राजमार्गमा बनेको तिनाउ पुलको उत्तर दक्षिण क्षेत्रमा पुलको स्पान भएकै ठाउँमा आलिसन घर छन्।
घर मात्र छैनन्, पुलको स्पान मुनि बनेका घरहरूमा पुग्न पक्की सडक छ। विद्युत् र खानेपानी पुगेको छ। यी घरमा आधारभूत आवश्यकता पूरा गर्न बुटवल उपमहानगरपालिकाले वर्षेनी बजेट पनि छुट्याउँछ। नाली निर्माण, सडक मर्मत, सडक बत्ती जडान उसको प्राथमिकतामा पर्छन्।
तिनाउको पुल मुनि यी घर बनेको धेरै समय भएको छैन। ०६५ साल अघिसम्म नगन्य घर थिए। तर, यहाँ अहिले पुलमुनि टोल नै बनेको छ। यी सबै अव्यवस्थित बसोबासी हुन्।
तिनाउको पुल मुनि मात्र होइन, तिनाउको फराकिलो बगरको दायाँ बायाँ अहिले आलिसान गगन चुम्ने महल बनेका छन्। अव्यवस्थित बसोबासी भनेरै नदीले चर्चेको क्षेत्रमा कतिपयले त पुर्जा समेत बनाएका छन्। पहिलेको फराकिलो तिनाउ नदी अहिले साँघुरो भएको छ। बगरमा बस्ती बस्दा तिनाउ नदी खुम्चँदै गएको छ।
तिनाउ नदी हिँड्ने क्षेत्र साँघुरो हुँदा कहिलेकहीँ तिनाउ नदीले आफ्नो धार बदल्छ। ०७३ सालमा तिनाउ नदीमा आएको बाढीले बुद्धनगर र हात्तीसुढ जोड्ने पुल बगायो। त्यसपछि भने तिनाउले खासै आफ्नो ‘ताकत’ देखाएको छैन। तर, वर्षायाम भर बगरमा घर बनाएकाहरूलाई चयनको निद्रा छैन।
तिनाउ साँघुरिनुको एउटा प्रमुख कारण बुटवल उपमहानगरपालिकाले फोहोर थुपार्नु हो। फोहोर थुपारेर पहाड बनाएपछि साँघुरो भएको तिनाउ त्यसपछि अतिक्रमित भयो। ठूला महल बने। सडक कालोपत्रे समेत भए।
तिनाउ नदी आफ्नो बास्तविक बाहव क्षेत्रमा जान नपाएका कारण हरेक वर्ष जोखिम बढ्दै गएको छ। यदि तिनाउ नदीमा ०५६ र ०६६ सालको जस्तो बाढी आएमा सयौं घर बगाउने र अर्बौंको क्षति पुग्ने निश्चित रहेको संरक्षणविद् बताउँछन्।
नदीले चर्चेको क्षेत्रमा बस्ती बसेपछि राज्य उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुको साटो राजनीतिक दलहरूले सधैँ लालपुर्जाको आश्वासन दिएर भोट बैंकको रूपमा प्रयोग गर्दै आएका छन्।
नदीको प्राकृतिक बाटो नै साँघुरिँदा त्यसले झनै बढी जोखिम निम्तिरहेको छ। तथ्यांकले पनि त्यही भन्छ।
पूर्व-पश्चिम राजमार्ग छेउको तिनाउ पुलनजिकै कन्येढुंगादेखि काँडेघारी, बुद्धनगर, मजुवा, प्रगतिनगर, मैनाबगर, टप मजुवा, सुन्दरनगर, विनापाते, पवित्रनगर, हात्तीसुँढ, तिलोत्तमाको सिमानगरजस्ता बस्ती बसेका छन्।
यी बस्तीलाई सुरक्षित बनाउन वर्षेनी जनताको तटबन्ध कार्यक्रमका नाममा करोडौं खर्च भएको छ। तर, अतिक्रमण गरेका बस्ती जोगाउन गरिएको सरकारको लगानी बेअर्थ देखिएको छ।
नदी क्षेत्रमै बसेका बस्ती सुरक्षित बनाउन भन्दै ०६६ साल असोजमा सरकारले जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय बुटवलमा स्थापना गरेर तिनाउ नदीसहित अन्य तीन वटा नदी नियन्त्रणको काम गर्दै आएको छ।
यो बीचमा नियन्त्रणका नाममा अर्बौं रुपैयाँ खर्च भएको छ। तर हरेक वर्ष आउने सामान्य बाढीले पनि नदी नियन्त्रणका लागि लगाएको तारजाली, रिटेनिङ वाल, कंक्रिट ढलान, स्लोप ढलान, त्रिखुट्टी बार, बेड वारलगायतका संरचना बगाएर लैजाने गरेको छ।
कार्यक्रम लागू भएपछि नदी नियन्त्रणका लागि १ अर्ब ६० करोड रूपैयाँ खर्च भएको छ। जनताको तटबन्ध कार्यक्रम कार्यालय बुटवलका प्रमुख शम्भु रेग्मी बस्ती सुरक्षित बनाउने प्रयास सार्थक नभएको बताउँछन्।
तिनाउको विध्वंश
रैनादेवी छहरा गाउँपालिकाको मेहल्ढाप र पूर्वखोला गाउँपालिकाको लेमढेम तिनाउ नदीको मुहान हुन्। रैनादेवी छहराको मेहल्ढापबाट बग्दै आउने खोलालाई दोभान खोला भनिन्छ। यो खोलामा बाउन्ने, झेर्दि, उटुवा, कुर्वान लगायतका स-साना खोला, खोल्साहरू मिसिएका छन्।
त्यस्तैगरि, पूर्वखोलाको लेमढेमबाट आएको खोलालाई झुम्सा खोला भनिन्छ। यो खोलामा गोठादी, सिस्ने, चकाल्दी, बहुला खोला लगायतका खोल्साखोल्सीहरू मिसिएका छन्। जब दोभान खोला र झुम्सा खोला तिनाउ गाउँपालिकाको वडा नं २ र ३ नम्बरको डुमैभन्ने ठाउँमा मिसिएर तल बुटवलतिर बग्न थाल्छ अनि त्यसलाई तिनाउ नदी भनिन्छ।
तिनाउ नदीले धेरै जनधनको क्षति गरेको इतिहास छ। ०२७ सालको असार ४ गते आएको बाढीले ९२ जना बेपत्ता भएका थिए। दाउन्ने टोलका २४ घरधुरीमा क्षति पुग्यो। ०३८ सालमा पनि तिनाउ उर्लियो। ०३८ असोज १३ गते तिनाउमा मिसिने दोभान र झुम्सा खोला उर्लिदा दोभानमा २९ र बुटवलमा ३५ जनाको ज्यान गएको तथ्यांक छ।
बुटवलका पूर्व उपमेयर एवं इतिहासविद् विमलराज शाक्य त्यो बेलाको घटना अझै सम्झन्छन्। आँखै अगाडि पूर्व-पश्चिम राजमार्गको गोलपार्कको पक्की पुल बगाएको थियो। सयौं हेक्टर धान लगाएको खेत पनि क्षणभरमै बगर बनेको थियो।
‘तिनाउ पहिले जस्तै धार बदलेर आएमा अहिले सयौंको ज्यान जाने र अर्बौंको धनमाल नोक्सान हुनेछ’, उनले भने।
तिनाउले बारम्बार धार बदल्ने गरेको छ। ०५९ सालमा आएको बाढीले बुटवल पवित्रानगरमा पक्की घर बगाएको थियो। ०६४ सालमा पनि नदीमा धेरै कच्ची घरहरू बगे। ०६६ सालमा आएको बाढीले पनि नदी छेउका एक सय सुकुमबासीका घर बगाएको थियो।
साँघुरिदै गएको तिनाउ नदीले बुटवलमा अर्को विपत्ति निम्तो दिइरहेको छ। बेलैमा यसबारे नसोच्ने हो भने तिनाउ नदीको सभ्यता नै संकटमा पर्ने पूर्व उपमेयर शाक्यले बताए।
तिनाउ नदीको वेग र क्षतिको विषयमा विद्यावारिधि गरेका इन्जिनियर खेटराज दाहालले सरकारले नै तिनाउ नदीलाई अतिक्रमण गर्ने र बस्ती संरक्षणमा लाग्दा कुनै न कुनै समय बुटवलले ठूलो मूल्य चुकाउनुपर्ने बताउँछन्।
‘नदीलाई आफ्नो क्षेत्रमा बग्न दिनुपर्नेमा निश्चित क्षेत्रमा बगाउने गरी हामीले संरचना बनाइरहेका छन्। यो भनेको बुटवलले विपत्ति कुरेर बस्नु बाहेक केही होइन’, उनले भने।
बुटवल उपमहानगरपालिकाले संकलन गरेको अव्यवस्थित बसोबासीको तथ्यांकअनुसार बुटवलकै सबैभन्दा बढी सुकुम्बासीको बसोबास रहेको वडा नं. ११ को देवीनगर र प्रगतिनगर क्षेत्र हो। वडाध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार अहिले पनि यो वडामा ४ हजार ८ सय ५१ घरधुरी सुकुम्बासी छन्। त्यी सबै नदीको बगर अतिक्रमण गरेर बसेका हुन्।
२०५१ मा जापान सहयोग नियोग (जाइका)ले गरेको अध्ययनअनुसार तिनाउमा ठूलो बाढी आउँदा प्रतिसेकेन्ड ४ हजार क्युविक लिटर पानी बगेको रेकर्ड छ। त्यति पानी बग्नका लागि कम्तीमा पनि २ सय ३७ वर्गमिटर क्षेत्रफल हुनु जरुरी छ। तर, आज नदीको बाटो ५० मिटर चौडाइको पनि छैन।
फराकिलो क्षेत्रमा बग्दा तिनाउको बेग आफैँ कमजोर हुन्छ। क्षेत्रफल घट्दा नदी गहिरिन थाल्छ। जति गहिरिँदै जान्छ, त्यति नै त्यसको बेग तीव्र र कडा हुन्छ। अति तीव्र वेगले आएको पानीले कल्पनै नगरेको क्षेत्रमा धार परिवर्तन गरिदिन्छ। धार परिवर्तन हुनासाथ त्यसले नदीको अर्को किनार कटान गर्छ र विनाश निम्त्याउँछ।
तिनाउ नदीको मुहान लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा उत्पत्ति भएको हो। रुपन्देही जिल्लाको बुटवलमा प्रवेश गर्नुअघि यो नदी महाभारत र चुरे पर्वतश्रृङ्खला हुँदै बग्छ। मानव अतिक्रमण र चुरे क्षेत्रमा बालुवा, गिट्टी र ढुङ्गाको जथाभावी उत्खननले तिनाउ खोला साँघुरिएको विज्ञ दाहालले बताए।
सिंचाइमा असर
तिनाउ नदीको घट्दो सतहले सिंचाइ सुविधामा समेत असर गरेको छ। बुटवलको कन्याढुंगादेखि तलबाट बाध बनाएर सिंचाइका लागि तराईको तल्लो क्षेत्रमा तिनाउको पानी लैजाने गरिएको छ।
तर, नदी गहिरिँदै र खुम्चदै जाँदा धान, गहुँ, तोरी, मकै र अन्य बाली उत्पादन गर्ने किसानहरू समस्यामा परेका छन्। हिउँदमा मात्र नभई बर्खामा समेत असर पुगेको छ।
सोह्र-छत्तीस नहरका अध्यक्ष यज्ञ गैरले नदी खुम्चदै जाँदा गहिरिने र त्यसले क्षय निम्ताउने र मुहानमा बारम्बार क्षति गर्ने गरेको बताए। यस प्रणालीले ६ हेक्टर क्षेत्रफलमा सिंचाइ गर्दै आएकोमा अहिले पाँच हजार हेक्टर क्षेत्रफलमा सिंचाइ गर्ने गरेको छ।
जंगबहादुर राणाको पालनामा किसान छेदा थारुले वि.सं. १९०३ पछि बनाएको स्रोह-छत्तीस नहरबाट पहिले ३-४ चरणमा सिंचाइका लागि किसानले पानी लैजाने गरे पनि अहिले तिनाउमा पानी नहुँदा किसानले एक-दुई पटक मात्र नहरको पानी लैजाने गरेका छन्।
‘पहिले खेती किसानी गर्ने भनेपछि किसानहरू आर्कषित हुन्थे। १२ वटै महिनामा सिंचाइको दुःख थिएन। तर अहिले बर्खामा पनि ठूलो भेल आउँछ। लेदो भेल किसानको खेतमा पुग्छ। हिउँदमा त खोला नै सुक्छ। त्यसैले अहिले व्यावसायिक रूपमा खाद्यान्य उत्पादन गर्नेहरू कम हुँदै गएका छन्’, अध्यक्ष गैरेले भने।
अहिले हिउँदमा सिचाई नहुँदा धेरै किसानले पानी कम प्रयोग हुने खेती तर्फ लागेको बताए।
‘पानीकै कारण व्यावसायिक हिसावले खाद्य उत्पादनमा लाग्ने कम छन्। केही तरकारीमा लागे पनि त्यो न्यून छ। खाद्य उत्पादनमा किसानलाई जोड्न सकिएको छैन। सिंचाइ मात्र हैन, मलखाद, बिउको समस्या छ। लागत अनुसार प्रतिफल पाउन सकेका नसक्दा पनि किसानहरू व्यावसायिक बन्न सकेका छैनन्’, उनले भने।
मधवलियाका किसान रामु लोहारले हिउँदमा स्रोह-छत्तिस मौजाको सिंचाइबाट पानी ल्याउन नसकिने बताउँछन्।
‘नहरमा पानी नै आउँदैन। त्यसैले पनि १२ वटै महिनामा खेती गर्न सकिएको छैन’, उनले भने।
कात्तिक ७, २०८१ बुधबार ११:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।