चितवनको टिकौली जंगलमा तीन सवारी जुध्दा एक जनाको मृत्यु, दुई जना घाइते

चितवनको टिकौली जंगलमा तीन सवारी जुध्दा एक जनाको मृत्यु, दुई जना घाइते

भरतपुर : चितवनको रत्ननगर गाउँपालिका-९ टिकौली जंगलमा तीन ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

मंगलबार राति ११ बजेर २० मिनेटमा टाँडीबाट नारायणगढ तर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००२ख १४३९ नम्बरको चामल लोड भएको ट्रक र नारायणगढबाट टाँडी तर्फ आइरहेको ना८ख ८६७४ नम्बरको खाली ट्याङ्कर एक आपसमा ठक्कर खाई सोही ट्याङकर पछाडी सोही दिशा तर्फबाट आइरहेको ना६ख ४६२४ नम्बरको ट्रक ठक्कर खाएको हो।

घटनामा  मधेश प्रदेश ०३-००२ख १४३९ नम्बरको ट्रक चालक मकवानपुर गढी गाउँपालिका-२ बस्ने अन्दाजी २५/२६ को अनिश स्याङतानको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

दुर्घटनामा सोही ट्रकका सह-चालक मकवानपुरको हेटौंडा-२ बस्ने २३ वर्षीय आसिश स्याङ्तान र ना८ख ८६७४ नम्बरको ट्याङकरका चालक मकवानपुर हेटौंडा-१९ नेवारपानीका ३६ वर्षीय सुदिप तामाङ घाइते भएका छन्।

घाइते तामाङलाई नयाँ मेडिकल कलेजमा सामान्य उपचारपछि थप उपचारका लागि बीएण्डबी अस्पताल काठमाडौं रेफर गरिएको छ।

यसका साथै ना ६ ख ४६२४ नम्बरको ट्रक चालक धादिङ गजुरी गाउँपालिका-२ बस्ने ३७ वर्षीय दिपक रोक्का, इप्रका रत्ननगर टांडीको नियन्त्रणमा रहेका छन्।

कात्तिक ७, २०८१ बुधबार १०:३९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।