‘तेल भिसा’को पहिलो पत्रकार सम्मेलन नै हरिविजोग : प्रोजेक्टरबाट गीत रिलिज, झुर व्यवस्थापन

‘तेल भिसा’को पहिलो पत्रकार सम्मेलन नै हरिविजोग : प्रोजेक्टरबाट गीत रिलिज, झुर व्यवस्थापन

काठमाडौं : शंकर घिमिरेले निर्देशन गरेको फिल्म ‘तेल भिसा’को पहिलो पत्रकार सम्मेलन गन्जागोल देखियो।

मंगलबार निर्माण टिमले नयाँ बानेश्वरको चियादानीमा फिल्मको तेस्रो गीत रिलिजको कार्यक्रम राखेको थियो।

फिल्मको पनि प्रमोसन गर्ने उदेश्यले फिल्मले गरेको यो नै पहिलो औपचारिक कार्यक्रम थियो। तर, पहिलो कार्यक्रम नै गन्जागोल हुँदा उपस्थित हुने पत्रकारदेखि कलाकार सबै अन्योलमा परेका थिए।

को पत्रकार, को बाहिरको मान्छे, छ्ट्याउनै मुस्किल पर्ने त्यो भीडमा प्रोजक्टरबाट सानो स्क्रिनमा गीतको भिडियो ‘कति रमाइलो’ देखाइएको थियो। हल्ला र भीडका कारण त्यहाँ उपस्थितले गीत राम्रोसँग हेर्न र सुन्नै पाएनन्। त्यहाँको व्यवस्थापन एकदमै झुर देखिन्थ्यो।

पछि युट्युबमा हेर्दा गीत राम्रै थियो। अञ्जु पन्त र आशिष अविरलको स्वर रहेको गीत एकनारायण भण्डारीले लेखेका रहेछन्। गीतमा आशिषकै संगीत छ।

गीतको भिडियोमा निर्मात्री ऋचा घिमिरेसहित दिलिप रायमाझी, विपिन कार्की, पूजा चन्द, शुशील क्षेत्री, उषा पौडेल, अरुणिमा लम्साल लगायतका कलाकारको अभिनय छ।

फिल्मको प्रमोसनका लागि प्रश्न उत्तरको कार्यक्रम राखियो। त्यहाँ कसले प्रश्न सोध्यो र कलाकारले कस्तो उत्तर दिए भनेर आवाज सुन्नै सकस भयो।

फिल्मको गीत प्रमोसनमा फिल्ममा मुख्य अभिनेता विपिन कार्की, दीलिप रायमाझी लगायतका कलाकार उपस्थिति नहुँदा अभिनेत्री वर्षा राउत र बुद्धि तामाङले निर्माण टिमको नाक जोगाइदिए।

सोमबार मात्रै अमेरिकाबाट यस फिल्मकी निर्मात्री तथा अभिनेत्री ऋचा घिमिरे नेपाल आएकी रैछिन्। गीतमा कलाकारको भीड जम्मा गरेकी उनले पत्रकार सम्मेलनमा भने दुई जना मात्र कलाकरमा चित्त बुझाउनुपर्यो।

त्यहाँको माहोल देखेर हो या उनको बानी नै त्यस्तै हो, निर्देशक शंकर घिमिरे आफैँ पनि अन्योलमा देखिन्थे। समग्रमा फिल्म ‘तेल भिसा’को पहिलो पत्रकार सम्मेलन हरिबिजोक नै भयो।

कात्तिक ६, २०८१ बुधबार १०:१८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।