अमेरिकालाई क्लिन स्वीप गरेको नेपाल ‘अमेरिका ए’सँग चार विकेटले पराजित

अमेरिकालाई क्लिन स्वीप गरेको नेपाल ‘अमेरिका ए’सँग चार विकेटले पराजित

काठमाडौं : अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई क्लिन स्वीप गरेको नेपाल ‘अमेरिका ए’विरुद्धको ५० ओभरको अभ्यास खेलमा पराजित भएको छ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी स्टेडियममा बुधबार बिहान भएको खेलमा नेपाल ‘अमेरिका ए’सँग नेपाल ४ विकेटले पराजित भएको हो।

नेपालले दिएको ८१ रनको झिनो लक्ष्य ‘अमेरिका ए’ले २३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

अमेरिका ए को जितमा नितिश रेड्डीले ३९ बलमा सर्वाधिक २९ तथा ओपनर राहुल जरिवालले ३३ बलमा २६ रन जोडे।

नेपालका लागि सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललितनारायण राजवंशीले समान १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले २५.३ ओभरमा अल आउट हुँदै ८० रनमा समेटियो।

नेपालका लागि कुशल मल्लले ४८ बलमा १८, देव खनालले १२ तथा भीम सार्कीले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अमेरिकामा नै यही कार्तिक ९ बाट १९ गतेसम्म विश्व कप लिग२ अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज हुँदैछ। जसमा घरेलु टोली सहित नेपाल र स्कटल्यान्ड खेल्दैछन्।

प्रतियोगिताका सबै खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ।

कात्तिक ६, २०८१ बुधबार ०७:५४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।