च्याम्पियन्स लिगमा एसी मिलानको पहिलो जित

च्याम्पियन्स लिगमा एसी मिलानको पहिलो जित

काठमाडौं : इटालियन क्ल्ब एसी मिलानले युइएफए च्याम्पियन्स लिगमा पहिलो जीत दर्ता गरेको छ।

लगातार दुई खेलमा पराजित भएको एसी मिलानले मंगलबार राति भएको खेलमा बेल्जियन क्लब ब्रुगलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

घरेलु मैदान सान सिरोमा भएको खेलमा नेदरल्यान्ड्सका खेलाडी तिज्जानी रेजिन्डर्सले दोस्रो हाफमा दुई उत्कृष्ट गोल गरे, जसले मिलानलाई २०२४ को प्रतियोगितामा पहिलो तीन अंक दिलायो।

खेलको ३४ औं मिनेटमा क्रिस्टियन पुलिसिकले कार्नरबाट सिधै गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए।

४०औं मिनेटमा नाइजेरियन मिडफिल्डर राफाएल ओन्येडिकाले रेजिन्डर्सलाई गरेको फउलको लागि रातो कार्ड पाउँदा ब्रुग १० खेलाडीमा सीमित भएको थियो।

१० खेलाडीमा रहे पनि ब्रुगका किरियानी साब्बेले ५१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ६१ औं र ७१ औं मिनेटमा तिज्जानी रेजिन्डर्सले गोल गर्दै एसी मिलानलाई ३-१ को अग्रता दिलाए।

८८ औं मिनेटमा १६ वर्षीय फ्रान्सेस्को कामार्दाले हेडरबाट गोल गरे पनि अफसाइडका कारण रद्द भयो। जसले युईएफए च्याम्पियन्स लिगमा नाम लेखाउने अवसर गुमाए।

अन्ततः एसी मिलान ३-१ गोल अन्तरको पहिलो जित दर्ता गर्न सफल भयो। च्याम्पियन्स लिगको अर्को खेलमा एसी मिलानले रियल मड्रिडसँग खेल्ने छ।

कात्तिक ६, २०८१ बुधबार ०७:१७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।