सय दिने उपलब्धि नेपाली सेनाको कि सडक विभागको !

सय दिने उपलब्धि नेपाली सेनाको कि सडक विभागको !

काठमाडौँ : राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माणमा सय दिनमा १ दशमलव ०४ प्रतिशत भौतिक प्रगति भएको विवरणसहित रक्षा मन्त्रालयले सय दिनको प्रगति विवरण सार्वजनिक गर्यो।

मङ्गलवार सार्वजनिक गरिएको प्रगति विवरणमा तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको भौतिक प्रगति ३६ दशमलव ४२ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ। आयोजनाको कुल वित्तीय प्रगति ३८ दशमलव ५५ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए।

द्रुतमार्गअन्तर्गत प्याकेज नम्बर २ मा पर्ने धेद्रे सुरुङ गत साउन २१ गते छिचोल्नेकार्य सम्पन्न भएको, खोकना–बुङ्गमती क्षेत्रमा आवश्यक भई अधिग्रहण गरिएका जग्गाको मुआब्जामा पुँजीगत लाभकर छुट दिन मन्त्रिपरिषद्बाट निर्णय भई राजपत्रमा प्रकाशन गरिएको प्रगति विवरणमा उल्लेख छ।

द्रुतमार्गको सुरु बिन्दु निर्धारण तथा सवारी आवागमन व्यवस्थापन सम्बन्धमा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस अन्तर्गतबाट विस्तृत सम्भाव्यता अध्ययन पूरा भई प्रतिवेदन प्राप्त भएकामा अध्ययनको चरणमा रहेको मन्त्रालयले जनाएको छ।

द्रुतमार्गअन्तर्गत मौरीभीर खण्डको निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) हेरफेर गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।

आयोजनाअन्तर्गत रहेका जम्मा ८९ पुलमध्ये ८५ स्थानका पुल निर्माणको लागि खरिद सम्झौता सम्पन्न भएको, हालसम्म मकवानपुरको राजदमार इलाकामा पाँच वटा पुलहरूको निर्माण कार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ।    

कर्णाली कोरिडोर (लालिबगर–दुलिकुन्ना र घाटपारीचौर–बद्रिगाउँ–भुक्काखोला खण्ड) सडक आयोजनामा शून्य दशमलव २९ प्रतिशत थप प्रगति हासिल भई २०८१ असोज मसान्तसम्मको समष्टिगत प्रगति १३ दशमलव ७९ किमी पुगेको छ।

कोसी कोरिडोर (च्याम्ताङ–घोङघप्पा खण्ड) मा शून्य दशमलव ४१ किमी, महाकाली कोरिडोर दार्चुला–टिङ्कर (तुसारपानी–टिङ्कर खण्ड) सडक आयोजनाअन्तर्गत थप शून्य दशमलव २ किमी, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाअन्तर्गत थप शून्य दशमलव ३२ किमी सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको प्रगति विवरणमा उल्लेख छ।

कात्तिक ५, २०८१ मंगलबार २२:२३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।