मेची महाकाली राष्ट्रिय उद्धार यात्रा : मधेश प्रदेशबाट ४० जना सडक आश्रित मानवहरूको उद्धार

मेची महाकाली राष्ट्रिय उद्धार यात्रा : मधेश प्रदेशबाट ४० जना सडक आश्रित मानवहरूको उद्धार

हेटौंडा : मेची महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत मधेश प्रदेशबाट ४० जनाको उद्धार गरिएको छ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नारासहित मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरू भएको हो। 

३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा मधेश प्रदेशका ३ जिल्लाका विभिन्न स्थानहरूबाट १० जनाको उद्धार गरिएको छ। 

जसमध्ये सर्लाहीको हरिवन नगरपालिका–११ बाट १ जना, बागमती नगरपालिकाबाट–१२ बाट २ जना  रौटहटको चन्द्रपुर नगरपालिका–२ र ३ वडाबाट ४ जना र पर्साको वीरगञ्ज महानगरपालिकाबाट ३ जना गरि १० जनाको उद्धार गरिएको हो।

उद्धार भएका ७ जनालाई मानव सेवा आश्रम वीरगञ्ज सेवा केन्द्रमा र  ३ जनालाई मुख्य कार्यालय हेटौंडा सेवा केन्द्रमा आजै स्थानान्तरणका लागि लगिएको छ।  

उद्धार टोली सोमबार सर्लाही, रौटहट, बारा, पर्सा  जिल्लाको विभिन्न ठाउँहरूमा  बेवारिसे अवस्थामा रहेका मानवहरूको उद्धार सेवामा खटिएको हो। 

असोज २८ बाट पूर्वको मेचीनगरनगर नगरपालिकाबाट सुरू भएको यात्राअन्तर्गत पर्साको वीरगन्जसम्म आइपुग्दा मधेश प्रदेशबाट ३० पुरुष र १० महिला गरी ४० जनाको उद्धार गरियो। 

मधेश प्रदेशअन्तर्गत सबैभन्दा बढी सप्तरी जिल्लाबाट एकैदिन १३ जना सडकआश्रित मानवहरूको उद्धार गरिएको थियो। 

त्यस्तै, मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा–७ बाट ४ जना, वडा–६  बाट ३ जना र  वडा– १ बाट १ जना, सप्तकोशी नगरपालिका–१ बाट ५ गरि १३ जनाको उद्धार भएको हो। 

सिरहाको लहान नगरपालिका वडा–१ बाट २ जना, वडा–३ बाट ३ जना, गोलबजार नगरपालिका–६ बाट २ जना र मिर्चैया नगरपालिका–७ बाट १ जना गरि सिरहाबाट ८ जना र धनुषा जिल्लाको जनकपुरधाम उपमहानगर पालिकाबाटबाट ४ जनाको उद्धार गरियो। 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरबाट ३ जना, मिथिला नगरपालिका–६ बाट १ जना र महोत्तरीको बर्दिबास नगरपालिका-१ बाट १ जनाको उद्धार गरिएको हो।

कात्तिक ५, २०८१ मंगलबार २२:०५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।