पुटिनसँगको भेटमा रूस-युक्रेन द्वन्द्वबारे के भने मोदीले ?

पुटिनसँगको भेटमा रूस-युक्रेन द्वन्द्वबारे के भने मोदीले ?

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार रूसमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा युक्रेन द्वन्द्व शान्तिपूर्ण र ‘छिटो’ समाधान होस् भन्ने चाहेको बताएका छन्। 

कजान शहरमा कडा सुरक्षाबीच आयोजित तीन दिने सम्मेलन २०२२ मा युक्रेन द्वन्द्व सुरू भएयता रूसमा भएको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कार्यक्रम हो। सम्मेलनमा पुटिनले पश्चिमको ‘प्रभुत्व’लाई चुनौती दिने उद्देश्यले गठबन्धन निर्माण गर्न खोजिरहेका छन्। 

'रूस र युक्रेनबीचको द्वन्द्वबारे हामी निरन्तर सम्पर्कमा छौँ”, हात मिलाएर अङ्कमाल गरेपछि मोदीले पुटिनलाई भने, 'विवादहरू शान्तिपूर्ण रूपमा मात्र समाधान हुनुपर्छ भन्ने हाम्रो विश्वास छ, हामी शान्ति र स्थिरता छिटो बहाली गर्ने प्रयासहरूलाई पूर्ण समर्थन गर्छौँ।'

पुटिनले रूस र भारतबीचको ‘विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’को प्रशंसा गर्दै सम्बन्धलाई थप विकास गर्ने प्रतिबद्धता जनाए। 

युक्रेन द्वन्द्व सुरू भएदेखि नयाँदिल्लीले कूटनीतिक सन्तुलन कायम राख्दै किएभलाई मानवीय सहायताको प्रतिबद्धता जनाए पनि रूसको आक्रमणको स्पष्ट निन्दा गर्नबाट बचेको छ।

भारतले आफूलाई सम्भावित मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्दै मोदीले वार्तालाई प्रोत्साहन गर्ने प्रयासमा अगस्टमा किएभ र जुलाईमा मस्कोको भ्रमण गरे। 

चिनियाँ राष्ट्रपति सी जिनपिङ, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित करिब दुई दर्जन अन्य नेताहरू शिखर सम्मेलनमा सहभागी हुने छन्। 

कात्तिक ५, २०८१ मंगलबार २१:३७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।