सञ्चार मन्त्रालयले सय दिनमा सतप्रतिशत कार्ययोजना पूरा गरेको दाबी

सञ्चार मन्त्रालयले सय दिनमा सतप्रतिशत कार्ययोजना पूरा गरेको दाबी

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको सय दिनको कार्ययोजना सतप्रतिशत पूरा भएको दाबी गरेको छ। 

मन्त्रालयलाई तोकिएको लक्ष्य र जिम्मेवारी पूरा हुनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र सचिव राधिका अर्यालको तदारुकता र कर्मचारीको उच्चस्तरको कार्यसम्पादन रहेको मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले दाबी गरे। 

आज रासससँग संवादका क्रममा उनले मन्त्रालयलाई दिइएका १५ वटा कार्य समयमै पूरा गरेको बताए। 

मन्त्रालयले सय दिने कार्ययोजनामा गोरखापत्रमा ४३ भाषामा एक राना थारू भाषा थप गरेर ४४ भाषामा समाचार सम्प्रेषण गर्नु, रेडियो नेपालमा दनुवार भाषा थप गरेर २५ वटा मातृभाषामा समाचार सेवा सञ्चालन गर्नु, हुम्लामा फाइवर टु द होम (एफटिटिएच) विस्तार गर्नु, तालिम सञ्चालन, सुरक्षा अडिट सम्पन्न, फिक्सड फाइबर विस्तार, मोबाइल सेवा विस्तार, फोरजी (एलटिइ) प्रयोगकर्ता २ प्रतिशत थप गरी ७२ प्रतिशत जनसङ्ख्यामा विस्तार गर्नेलगायत काम पूरा गरेको छ।   

राससको सेवा २४ सै घण्टा सञ्चालन हुनु, रासस सङ्ग्रहालय खोल्नु, मैथिली र नेपाल भाषामा समाचार सेवा सञ्चालन गर्नु पनि मन्त्रालयको सय दिने कार्ययोजना अनुसार नै सम्पन्न भएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताए। 

उनले सीमित स्रोतसाधनमा महत्त्वपूर्ण काम सम्पादन पूरा गर्नु चुनौतीपूर्ण रहेको बताए।  

कात्तिक ५, २०८१ मंगलबार २१:१५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।