उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन स्वास्थ्यमन्त्रीले सुझाव समिति गठन गरे

उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन स्वास्थ्यमन्त्रीले सुझाव समिति गठन गरे

काठमाडौं : उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन्।

मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद् डा.पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरे।

समितिको सदस्यमा स्वास्थ्यविद् डाक्टर अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद् डाक्टर देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा, औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि छन्।

समितिलाई औषधीको उपभोक्तालाई उचित मूल्यमा उपलब्ध हुने गरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव दिन कार्यादेश दिइएको छ।

समितिलाई छिमेकी देशहरूले अपनाइएका औषधी मूल्यसम्बन्धी नीति, व्यवस्था र प्रक्रिया अध्ययन गरि उपयुक्त हुने स्वच्छ मूल्य निर्धारणसम्बन्धी आधारहरू पहिचान गरि गर्नुपर्ने नीतिगत सुधारसम्बन्धी सुझाव दिन पनि भनिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार समितिले औषधी मूल्य सम्बन्धित विषय वस्तुबारे अभ्यास पुनरावलोकनसमेत गरेर गुणस्तर पहिचानसमेत गरी सुझाव सिफारिस गर्नेछ।

औषधीको मूल्यसँग सम्बन्धित नीति प्रणाली, बजार मूल्य, आयात–निर्यात अवस्था तथा सरकारी नीतिहरूबारे समेत समितिले मन्त्रालयलाई सुझाव दिनेछ। जुन सुझाव मन्त्रीसमक्ष प्रस्तुत गर्नेछ।

समितिको सोही सुझावका आधारमा उपभोक्तालाई औषधीको गुणस्तर नियन्त्रण प्रभावकारी बनाउँदै उचित मूल्यमा उपलब्ध गराउने गरी मन्त्रालयले आवश्यक निर्णयसमेत लिने प्रवक्ता डाक्टर बुढाथोकीले जानकारी दिए। 

कात्तिक ५, २०८१ मंगलबार २१:०२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।