टिकटकले तीन महिनामा १७ करोड ८८ लाख भिडिओ हटायो

टिकटकले तीन महिनामा १७ करोड ८८ लाख भिडिओ हटायो

काठमाडौं : टिकटकले आफ्ना प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल स्पेसका लागि क्यु२ कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट जारी गरेको छ। 

२०२४ को अप्रिलदेखि जुनसम्मको तथ्याङ्कलाई समेट्ने रिपोर्टमा टिकटकले आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गर्न र हटाउनका लागि उठाएका सक्रिय कदमहरूको विवरण समावेश छ। 

टिकटकले यस त्रैमासिकमा विश्वव्यापी रूपमा १७ करोड ८८ लाख २७ हजार ४ सय ६५ ओटा भिडिओहरू हटाएको थियो, जुन टिकटकमा अपलोड गरिएका भिडिओको १ प्रतिशत हो। हटाइएका भिडियोहरू मध्ये १४ करोड ४४ लाख ३० हजार १ सय ३३ ओटा भिडिओहरू अटोमेटेड डिटेक्सन प्रविधिहरू प्रयोग गरेर पत्ता लगाई हटाइएको थियो। 

तर, बाँकी भिडिओ भने थप समीक्षापछि पुनर्स्थापित गरिएको बताइएको छ। सक्रिय हटाउने दर ९८.२ प्रतिशतमा रह्यो भने ९३.५ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट गरेको २४ घण्टाभित्र हटाइएको थियो।

९८.२ प्रतिशतको सक्रिय डिटेक्सन दरसँगै प्रयोगकर्ताहरूसम्म पुग्नुअघि नै हानिकारक सामग्रीलाई सम्बोधन गर्ने सवालमा टिकटक पहिलेभन्दा अझ बढी कुशल बनेको कम्पनीको दाबी छ। 

रिपोर्टले टिकटकको कन्टेन्ट मोडेरेसन प्रणालीहरूको शुद्धता र प्रभावकारितालाई सुदृढ गर्दै पुनर्स्थापित भिडिओहरूमा आएको ५० प्रतिशत  कमीलाई पनि हाइलाइट गर्छ।

रिपोर्टले हटाइएका भिडिओहरूको महत्त्वपूर्ण भाग ३१ प्रतिशतमा टिकटकको कन्टेन्ट नीतिहरूसँग नमिल्ने संवेदनशील वा परिपक्व विषयवस्तुहरू रहेको कुरा पनि संकेत गर्छ। 

थप १५.१ प्रतिशत भिडिओहरूले भने यस अवधिमा टिकटकको सुरक्षा र सभ्यता मापदण्डहरू उल्लङ्घन गरेका र ४.७ प्रतिशतले भने गोपनीयता र सुरक्षा दिशानिर्देशहरू उल्लङ्घन गरेको पाइएको छ।

कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टको आवधिक प्रकाशनले कन्टेन्ट र अकाउन्ट एक्सनहरूको मापन र प्रकृतिमा अन्तर्दृष्टि प्रदान गर्छ, जसले पूर्ण पारदर्शिताको लागि टिकटकको प्रतिबद्धतालाई जोड दिने टिकटकले जनाएको छ।  

कात्तिक ५, २०८१ मंगलबार २०:४७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।