एनपिएल : लुम्बिनी लायन्समा चार जना नयाँ खेलाडी सहभागी गराइने, १८ भित्र आवेदन बुझाउनु पर्ने

एनपिएल : लुम्बिनी लायन्समा चार जना नयाँ खेलाडी सहभागी गराइने, १८ भित्र आवेदन बुझाउनु पर्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले प्रतिभाशाली क्रिकेटरहरूका लागि सुनौलो अवसर ल्याएको छ। घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप लुम्बिनी लायन्सले आगामी एनपीएलको लागि आफ्नो टोलीमा ४ उदीयमान खेलाडीहरूलाई सामेल गराउन लागेको हो।

यसरी छनोट भएका ४ खेलाडीहरू मध्य एक जनाले ‘सुपरस्टार’को उपाधि प्राप्त गर्नेछन्। जसले नेपाल प्रिमियर लिगका अरू खेलाडीहरूसँग खेल्न पाउनुका साथै नगद पुरस्कार १ लाख रूपैयाँ पनि प्राप्त गर्नेछन्। 

त्यसैगरी बाँकी ३ खेलाडीहरूले ‘स्टार’को उपाधि प्राप्त गर्नेछन्। उनीहरूले लायन्स क्लबको विशेष प्रशिक्षणहरूमा सहभागी हुने अनुभव प्राप्त गर्ने बताइएको छ। 

विज्ञ प्रशिक्षकहरूको मार्गदर्शन र निरीक्षणमा युवा क्रिकेटरहरूको सीप निखार्दै उनीहरुलाई प्रोफेशनल क्रिकेट क्लबको हिस्सा बन्ने अवसर प्रदान गर्न यस ट्यालेन्ट हन्टको सुरुवात गरिएको क्लबले जानकारी दिएको छ। 

यस अवसरबारे बोल्दै लुम्बिनी लायन्सका संचालक इश्वर जिसिले भने, 'यो अभियान अन्तर्गत हामीले लुम्बिनी प्रदेशका विभिन्न कुनाबाट क्रिकेटका उदीयमान तारा खोज्न कोसिस गरिरहेका छौँ।'

इच्छुक युवा क्रिकेटरहरूले लुम्बिनी लायन्सको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिएको ट्यालेन्ट हन्टको पोस्टमा रहेको रजिस्ट्रेसन क्लिक गरेर आवेदन प्रक्रियाको बारेमा विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ।

क्लबको कोचिङ प्यानलले सबै सहभागीहरूले पठाएका भिडियोहरूको मूल्याङ्कन गरेपछि छनोट प्रक्रिया शुरू हुनेछ। जसको आधारमा खेलाडीहरूको सीपको स्तरको आँकलन गरिनेछ। 

यस मूल्याङ्कनको आधारमा छनोट गरिएका खेलाडीहरूको सूची तयार गरी उनीहरूलाई व्यक्तिगत रूपमा ट्रायलमा सहभागी हुने अवसर प्रदान गरिने बताइएको छ।

यो अवसरको लागि कार्तिक १८ भित्र आवेदन बुझाउनु पर्नेछ। सर्टलिस्टमा परेका आवेदकहरूको नाम कार्तिक २० मा घोषणा गरिनेछ भने ट्रायलको मिति र स्थान पनि तोकिने जनाइएको छ।

कात्तिक ५, २०८१ मंगलबार २०:२९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।