भिस्ताराको विमानमा शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित

भिस्ताराको विमानमा शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित

काठमाडौँ : भारतीय विमान सेवा कम्पनी भिस्तारा एयरमा कुनै शङ्कास्पद वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो। उक्त विमानमा कुनै पनि शङ्कास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित रूपमा सञ्चालन भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए। उनले विमानमा शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त घोषणा गरिएको बताए।

‘विमानको बाहिरी, भित्री र यात्रु तथा सबै सामान जाँच भयो । शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त पनि घोषणा गरिएको हो’, सूचना अधिकारी भूलले भने।

भारतको नयाँ दिल्लीबाट काठमाडौँस्थित विमानस्थलमा दिउँसो ४:३० बजे अवतरण गरेको भिस्ताराको उडान नम्बर ‘युके १५५’ भएको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले दिउँसो ४:३० बजेदेखि साँझ ७ बजेसम्म विमानको जाँच गरेको थियो।    
    
अज्ञात समूहले भिस्ताराको एयरबस ए ३२० विमानमा बम रहेको धम्कीपूर्ण सूचना आएपछि काठमाडौँ विमानस्थलमा उक्त विमानलाई पार्किङवेबाट अलग्गै राखेर सुरक्षा जाँच गरिएको थियो। विमानका यात्रुहरूलाई विशेष रूपमा शरीर खानतलासी गरेर उच्च निगरानीका साथ अध्यागमनबाट बाहिर पठाइएको थियो।    
    

कात्तिक ५, २०८१ मंगलबार २०:२२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।