७० प्रतिशत स्याउको बजार नेपाली उत्पादनको ‘कब्जामा’, विदेशी स्याउ विस्थापित हुनुको मुख्य कारण बाढी-पहिरो !

७० प्रतिशत स्याउको बजार नेपाली उत्पादनको ‘कब्जामा’, विदेशी स्याउ विस्थापित हुनुको मुख्य कारण बाढी-पहिरो !

बुटवल : कुनै बेला बुटवलसहित आसपासका बजारमा भारत र चीनबाट आयात गरिएको स्याउले बजार ढाक्थ्यो। चाडपर्वको समयमा त नेपाली उत्पादनको स्याउ बजारमा देख्नै गाह्रो हुन्थ्यो। 

तर, यस पटकको चाडपर्वमा भने भारत र चीनको स्याउलाई टक्कर दिँदै यहाँको बजारमा नेपाली उत्पादनको स्याउले कब्जा जमाएको छ।

विगतका वर्षमा बजार नपाई कुहिएर नास हुने गरेका मुस्ताङ र जुम्लाका स्याउले अहिले भने राम्रो बजार पाए। यस पटकको दशैंमा पनि जुम्ला, मुस्ताङ र हुम्लाका स्याउले राम्रो बजार जमाए।

‘पहिले नेपाली स्याउ आएपनि आउन साथ सकिहाल्थ्यो। भारत र चीनको स्याउले नै चाडपर्व धान्ने गर्थ्यो। तर, अहिले नेपाली स्याउले ७० प्रतिशत बजार कब्जा गर्यो’ लुम्बिनी फलफूल व्यवसायी संघका निवर्तमान अध्यक्ष केशव कुँवरले भने।

कुँवरका अनुसार अहिले नेपाली स्याउमा ग्राहकको उच्च माग छ। अर्ग्यानिक अनि विषादीरहित हुम्ला, मुस्ताङ र जुम्लाका स्याउ भारत र चीनको भन्दा बढि रसिलो भएका कारण पनि ग्राहकहरूको रोजाइमा परेको उनले बताए।

भारत र चीनबाट भित्रिएको स्याउको मूल्यको तुलनामा नेपाली स्याउको मूल्य पनि कम छ। भारत र चीनको स्याउ प्रतिकिलो २५० देखि ३५० रूपैयाँसम्म बिक्री हुँदा नेपाली स्याउ प्रतिकिलो १२० देखि २५० (ग्रेडिङ वाला) मा बिक्री भइरहेको छ।

दशैंमा मात्र बुटवलको कृषि थोक उपज केन्द्रबाट ५ करोड भन्दा बढि मूल्यको स्याउ बिक्री भएको तथ्यांक छ। बुटवलको कृषि उपज केन्द्रका अध्यक्ष धनश्याम भुसालले यस बर्ष बढि नेपाली स्याउको माग उच्च भएको बताए।

चीन र भारतको स्याउ बढी खपत हुने गरेको बुटवलमा अहिले जुम्ला र मुस्ताङको स्याउले जताततै बजार पाउँदा व्यापारी पनि खुसी छन्। 

‘अघिल्लो बर्षको तुलनामा यस बर्ष राम्रो बिक्री भयो। पहिला चाडपर्वमा जुम्ला, मुस्ताङको स्याउ आउँथ्यो तर, भाउ पाउन कठिन थियो। यस पटक भाउ पनि राम्रो पायो। बिक्री पनि राम्रो भयो’ अध्यक्ष भुसालले भने।

नेपाली उत्पादनको प्रयोग गर्नुपर्छ भन्ने उपभोक्तामा जनचेतना जागेकै कारणले पनि यस पटक नेपाली स्याउले बजारमा राम्रो मूल्य पाएको उनको भनाई छ।

उनका अनुसार उपभोक्ताको रोजाइमा नेपाली स्याउ भएपनि कात्तिकपछि भने नेपाली स्याउलाई बजारमा कम मात्र देख्न सकिन्छ। 

‘कार्तिक पछि केही कम हुन्छ। तर अहिलेको बजारलाई हेरेर अब व्यवसायीहरूले पनि कोल्ड स्टोरमा राख्न सक्नुहुन्छ। यस पटकदेखि नेपाली स्याउको सुनौली भविष्य देखिएको छ’ उनले भने।

बुटवल कृषि उपज तथा थोक बजार केन्द्रका थोक व्यापारी कलाधर पन्थीले नेपाली स्याउको माग यस पटक उच्च रहेको भन्दै खुसी व्यक्त गरे। उनले दशैंको समयमा मात्र ५० लाख भन्दा बढिको स्याउ बिक्री गरेको बताए।

बुटवल भैरहवामा मात्र नभई लुम्बिनी प्रदेशका नेपालगञ्ज, दाङ, कपिलवस्तु, बाँके, बर्दियाका मुख्य बजारमा पनि कर्णालीका स्याउले कब्जा जमाएका छन्।

त्यस्तै, गुल्मीको तम्घास, पाल्पा, अर्घाखाँचीमा पनि यो वर्ष पहिलो पटक जुम्लाको स्याउ भित्रिएको छ।

जुम्ला, हुम्ला, मुस्ताङबाट बजारमा आएको स्याउ यस पटक पूरा रातो हुन्जेल पाकेर आएको छ। यसअघि काँचोमै किसानले स्याउ टिपेर बजारमा पठाउँथे।

यसपटक भने जुम्लामा अपरिपक्व अवस्थामा स्याउ नटिप्न किसानलाई आग्रह गरिएको थियो। अपरिपक्व अवस्थामा स्याउ टिप्दा स्याउको गुणस्तर खस्किँदै जाँदा पहिचान गुम्ने खतरा बढेकोले परिपक्व भइसकेपछि मात्रै स्याउ टिप्न किसानलाई आग्रह गरेपछि किसानले दशैं खर्च उठाउने गरी परिपक्व पाकेको स्याउलाई बजारमा पठाएका हुन्।

‘यस पटक चीन, भारतबाट करोडौंको स्याउको कारोबार गर्ने व्यापारी किसानको बगैंचासम्म पुगेपछि नेपाली स्याउलाई ब्रान्डिङ गर्न मद्दत मिल्यो। त्यसैले पनि नेपाली बजारमा सहजताका साथ स्याउ आयो’ लुम्बिनी फलफूल व्यवसायी संघका निवर्तमान अध्यक्ष कुँवरले भने।

उनले विगत वर्षहरूमा काँचो र अपरिपक्व स्याउ बाह्य बजारमा गएकै कारण जुम्लाको स्याउको पहिचान गुमेपनि यस पटक बजारमा रातो परिपक्व स्याउ आएको र नेपाली मनमा स्याउको स्वादले मन जितेको बताए।

लुम्बिनी कृषि उपज थोक बजार मणिग्रामका अध्यक्ष भिमकान्त पन्थीले अहिले नेपाली स्याउले बजारमा नयाँ रेकर्ड बनाएको बताए। 

‘बाढीका कारण चीनको स्याउ आएन। भारतीय स्याउ पनि महंगो भयो। यही बेला जुम्ला, मुस्ताङको स्याउ बजारमा आउँदा नेपाली बजार नेपाली उत्पादनले ढाक्यो’ उनले भने।

उनका अनुसार मणिग्राम केन्द्रबाट मात्र २ करोड भन्दा बढिको स्वदेशी स्याउ बिक्री भएको छ। यस पटक मुस्ताङ र जुम्लाको स्याउले बजारमा पनि राम्रो मूल्य पाएको उनले बताए। 

‘मुस्ताङको स्याउ अहिले २०० मा बिक्री भयो। १६० रुपैयाँ प्रतिकेजी मूल्य किसानले पाए। जुम्लाको स्याउमा ८० रूपैयाँसम्म किसानले पाए। पहिले प्रतिकेजी ३०–३५ पाउँथे’ उनले भने।

उनले जुम्ला, मुस्ताङ, हुम्लाको स्याउ यसअघि सुर्खेत, कोहलपुरमा बिक्री हुने गरेपनि अहिले भने बुटवलको बजार कब्जा गरेको बताए। 

कात्तिक ५, २०८१ मंगलबार १९:५७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।