काम गर्ने किसान, कमाउने बिचौलिया : गुन्डुमा २० रुपैयाँमा पाइने मखमली बजार छिर्दा २ सयको हुन्छ

काम गर्ने किसान, कमाउने बिचौलिया : गुन्डुमा २० रुपैयाँमा पाइने मखमली बजार छिर्दा २ सयको हुन्छ

गुन्डु (भक्तपुर)  : चिसो सिरेटोमा बिहान सबेरै घरको काम सकेर भक्तपुर सुर्यविनायक गुण्डुकी रचना बस्नेत मखमली बारीतिर लाग्छिन्।

तिहार आउन एक हप्तामात्र बाँकी छ। अन्तका किसान पाकेको धान भित्र्याउन व्यस्त छन्। गुन्डुका किसान भने मखमली भित्र्याउन।

बारीमा मखमली फूल टिप्ने अनि दिनभरि माला गाँस्न व्यस्त हुने गरेको रचनाले सुनाइन्। गुण्डुका किसानले गाँसेका माला लिन व्यापारीहरू उनीहरूकै आँगनै पुग्छन्।

रचनाले साउन अन्तिम सातादेखि नै फूल टिप्न थालेकी हुन्। विगतमाभन्दा फूल उत्पादन कम भएकाले अहिले माग बढी रहेको उनले बताइन्।

‘अहिलेको काम नै बिहान फूल टिप्ने, दिनभरि गाँस्ने नै हो। साउन अन्तिम सातादेखि फूल टिप्न थालेका हौँ,’ उनले भनिन् ‘फूलबारी र धानबाली सँगै भित्र्याउने समय आयो। फूल ढकमक्क फुलिसकेकाले धानभन्दा पहिला फुलै टिपिरहेका छौँ।’

गुण्डुको हरेक घर-आँगन मखमलीले भरिएका छन्। माला उन्न भिड देखिन्छ। कोही फूल टिप्न र कोही माला गाँस्न व्यस्त छन्।

स्थानीय महिलाहरू आलोपालो गरी माला गाँस्न व्यस्त छन्। प्रतिमाला ५ रुपैयाँका दरले पारिश्रमिक दिने गरेको स्थानीयले बताए।

तिहारको भाइटिकामा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै गलामा लगाइदिने मखमली फूल रोप्नेदेखि माला गाँस्दासम्मका लगानी टन्नै हुन्छ।

‘मखमली खेती त्यति सजिलो छैन। फूलमा चाँडै किरा लाग्छ। किटनाशक औषधी छर्कनुपर्छ। खर्च पनि उतिकै हुन्छ। कहिलेकाहीँ त नाफाभन्दा बढी खर्च पनि हुन्छ।’

किसान र व्यवसायीबिच सिधा सम्पर्क नहुँदा फूलको उचित मूल्य नपाइएको रचनाको दुखेसो छ। व्यवसायी आफैँ फूल लिन आउनुको सट्टा बिचौलियालाई पठाउने गरेकाले १५ वर्षदेखि एउटै भाउमा मखमलीको माला बेच्नुपरेको उनले बताइन्।

‘बजारभाउ राम्रो नै पाइन्थ्यो तर व्यापारीहरू गाउँमा आएनन्। किसानसँग सम्पर्क नै गर्दैनन्। बिचौलियाहरूलाई पठाइदिन्छन्। बजारमा मालाको मूल्य राम्रो छ तर हामीलाई १५ वर्षदेखि एउटै मूल्य दिइरहेका छन्।’

उनले दिएको जानकारी अनुसार १५ वर्षदेखि मखमली फूलको माला प्रतिगोटा २० रुपैयाँमा बिक्री हुने गरेको छ।

अर्की मखमली फूल व्यवसायी राधिका फुयाँलको गुनासो पनि उही छ। फूल व्यवसायी आफैँले बजार र एजेन्ट खोज्नुपर्ने भएका कारण किसानले चाहेको भाउमा बिक्री गर्न नसकिरहेको उनले सुनाइन्।

‘किसानले काम गर्ने हो। तर यहाँ बजार, एजेन्ट सबै आफैँले खोजेर हिँड्नुपर्ने अवस्था छ। त्यो पनि कहिले गर्न सकिँदैन। हामीले २०, २५ रुपैयाँमा बेचेको मालालाई दुई सय रुपैयाँ तिरेर उपभोक्ताले किनिरहेका हुन्छन्’ उनले भनिन्।

चाडमा भारतलगायतका क्षेत्रबाट हुने फूल आयात रोक्न सके मखमली फूलले राम्रो बजार पाउने उनीहरू बताउँछन्। मखमली उत्पादनका बेला पानी बढी परेकाले फुल्ने समयमा बोटहरू ढलेकाले यो वर्ष अपेक्षित फूल उत्पादन हुन नसकेको किसानहरू सुनाउँछन्।

वास्ता छैन सरकारलाई

गुण्डुवासीले ४० वर्षदेखि मखमली फूलको व्यावसायिक खेती गर्दै आए पनि सरकारबाट अहिलेसम्म कुनै सहयोग नपाएको उनीहरूको गुनासो सुनियो।

आफ्नो बारीमा फुल्ने फूल अमेरिका, अस्ट्रेलिया, अमेरिकालगायतका देशमा समेत निर्यात हुने गरे पनि सरकारले किसानहरूलाई प्रोत्साहित गर्नुको सट्टा भारतबाट फूल आयात गर्न व्यापारीलाई उत्साहित गराइरहेको उनीहरूको आरोप छ।

‘नेपाल सरकार भारतबिना बाँच्न नसके जस्तो गर्छ। नेपालमा उत्पादित वस्तुलाई महत्त्व दिँदैन। हामीले उत्पादन गरेको गोलभेँडा समेत खेतमै कुहेर खेर गयो,’ फुयाँलले भनिन् ‘भारतबाट आयात हुने फूल बन्द गर्ने हो भने हामीले मेहनत गरेको फूल सस्तोमा पनि किन्न आउँथे। किसानले मूल्य पाउँथे।’

सरकारले फूल व्यवसायका लागि किसानहरूलाई अनुदान दिन सके देशमा खपत हुने फूल उत्पादन गर्न सकिने उनको दाबी छ।

‘फूल राम्रो विक्री हुन सकिरहेको छैन। किसानले गर्ने भनेकै मिहेनत हो। मिहेनत गर्दागर्दै पनि हुँदैन, धेरै गाह्रो हुन्छ,’ व्यवसायी रचना क्षेष्ठले भनिन् ‘मेहेनतको एक छेउ पनि पाउन गाह्रो छ। राम्रो नीति नै छैन।’

नरेश जोशीनेपाल न्युज बैङ्क

कात्तिक ५, २०८१ मंगलबार १९:१५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।