बाबुरामको पार्टी दुई लाख घाटामा, नामको पछाडि नयाँ शक्ति थपिने

काठमाडौँ : माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गरेका बाबुराम भट्टराई यो बिचमा विभिन्न दलसँग एकिकरण गर्दै गएसँगै नयाँ शक्ति नाम हरायो। उनी पछिल्लो समय उपेन्द्र यादवको पार्टीमा गएका थिए।
यादवसँगको सहकार्य लामो नगएपछि नेपाल समाजवादी पार्टी गठन गरेका उनी पुन नयाँ शक्तिको नामतिर फर्कँदै पार्टीको नाम नेपाल समाजवादी पार्टी नयाँ शक्ति बनाउने भएका छन्।
पोखरामा सम्पन्न पार्टीको विधान अधिवेशनले पार्टीको नामको पछाडि नयाँ शक्ति पुच्छर जोड्ने र झन्डा समेत परिवर्तन गर्ने निर्णय गरेको छ। सोही अधिवेशनले पार्टीको महाधिवेशन माघ २५,२६ र २७ गते काठमाडौँमा गर्ने निर्णय समेत गरेको छ।
महाधिवेशनमा प्रत्यक्ष मतदानबाट नेतृत्व चयन गर्ने प्रावधान समेत थप भएको छ। विधान अधिवेशनले पार्टीको केन्द्रीय संरचना फेरबदल गर्दै केन्द्रीय समितिमा ११ सदस्यीय पदाधिकारी र ९९ जना सदस्य रहने बनाएको छ।
११ जनामध्ये १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी , १ खस-आर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष राखिएको छ। सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था सहित पारित विधानमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशत हुनुपर्ने प्रावधान समेत राखेको छ।
विधान अधिवेशनमा प्रस्तुत गरिएको आयव्यय विवरण अनुसार ७ लाख ५० हजार आम्दानी र ९ लाख ७७ हजार खर्च उल्लेख थियो।
कात्तिक ६, २०८१ मंगलबार १८:३७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।