मुख्यमन्त्री कँडेलले एमाले कार्यकर्तालाई भने 'बजेट ल्याइदिन्छु भन्ने नक्कली कुरा गरेर राजनीति नगर्नुस्'

मुख्यमन्त्री कँडेलले एमाले कार्यकर्तालाई भने 'बजेट ल्याइदिन्छु भन्ने नक्कली कुरा गरेर राजनीति नगर्नुस्'

रूकुम पश्चिम : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास योजनाका लागि सरकारी तहबाट बिनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताएका छन्।

मंगलबार मुसिकोटमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कँडेलले भने, ‘सरकारी पैसा हो जे गरेपनि हुन्छ भन्ने धारणा छ, त्यसलाई अब बदलौं। बदल्न सकिएन भने हाम्रो अवस्था पनि बदलिँदैन।’

योजना छनौटमा देखिएका समस्यालाई प्रदेश सरकारले योजना बैंक वा क्रमशः कानून बनाएर व्यवस्थित गर्ने अभियानमा लागेको बताउँदै  मुख्यमन्त्री कँडेलले पहुँचको भरमा योजना ल्याएर जथाभावी गर्ने प्रवृतिलाई आफ्नो नेतृत्वको सरकारले रोक्ने दाबी गरे। 

सरकारी योजना छनौट गर्दा जनताले राहत महसुस नगर्ने तर, कार्यकर्ताको मात्र चित्त बुझाउने गरि योजना छान्ने प्रवृतिलाई आफूले रोक्ने अभियानमा लागेको मुख्यमन्त्री कँडेलको धारणा छ। 

त्यस्तै, शक्ति र शासन देखाएर सत्ता टिकाउने जमाना गइसकेको बताउँदै मुख्यमन्त्री कँडेलले बजेट ल्याइदिन्छु, योजना पारिदिन्छु भनेर नक्कली कुरा गरेर पार्टी राजनीति नगर्न कार्यकर्तालाई सुझावसमेत दिए। 

'बजेटको कुरा गरेर जनतालाई क्षणिक रुपमा अल्मल्याउन सकिन्छ होला' उनले भने, तर राम्रो नीति र कानून बनाउँदा त्यसको लाभ दीर्घकालीन रुपमा सबै नागरिक पाउँछन् र सरकारप्रति भरोसा बढ्छ।' 

राजनीतिमा लागेर के पाइयो भन्ने वितृष्णा पैदा हुने प्रचलन रहेको तर्फ गर्दै मुख्यमन्त्री कँडेलले राजनीतिमा निष्ठा, समर्थन र त्यागसहितको सेवाभाव अझै जरुरी रहेको बताए।  

कात्तिक ५, २०८१ मंगलबार १७:३५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।