'घरबार नहुनेहरूको रात सधैं सडकमा बित्छ, ठेगाना पनि सडकबाट सुरू भएर सडकमै टुंगिन्छ'

'घरबार नहुनेहरूको रात सधैं सडकमा बित्छ, ठेगाना पनि सडकबाट सुरू भएर सडकमै टुंगिन्छ'

काठमाडौं : मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा। उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ। दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिछ्याएर उनी प्रायः खुला आकाशमुनि रात बिताउँछन्। तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउँछन्।  

शुक्रबार दरबारमार्गमा साँझ परेपछि घाम कहिले ओझेल पर्छ र निदाउन अँध्यारो खोज्न सुरसार गर्दै थिए तामाङ। बोल्दाबोल्दै बिर्सने मनस्थितिमा पुगेका उनलाई आफू सडकमा आउनुको कारण एक वाक्यमा टुंग्याउँछन्। 

‘चाहेको होइन, तर परिस्थितिले सडकमा ल्यायो,’ उनी भन्छन्, ‘घर र ठेगाना सडकबाट सुरू भएर सडकमै टुंगिन्छ।’ 

घाम अस्ताउने पश्चिमतिर भन्ने मात्रै थाहा छ उनलाई। परिवार र आफन्तीको लेखाजोखा उनले कहिल्यै गरेनन्। दिनमा भारी बोक्न पाए दुई–चार रुपैयाँ कमाउने र बेलुका खाना खाएर सडकमा वास बस्ने उनको दैनिकी हो। 

उनी भन्छन्, ‘न्यायो ओछ्यान बिर्सिएको वर्षौँ भयो । आफ्नो विगतको तितोपल सम्झिन चाहन्न।’ जाडोयाममा अत्यन्त कठिन हुने हुँदा कसरी चिसो कटाउने भन्ने चिन्ता लाग्ने  उनी बताउँछन् । 

सडकमा रात बिताउन पनि घरवारविहीन सडकमानवलाई सजिलो छैन। गोरखा जिल्लामा जन्मिएको बताउने सानोकान्छा घर्तीको धेरैजसो रात ठमेलका सडकपेटीमा बित्ने गर्दछ। 

‘गरिब देखेर सबैले हेप्छन्, चोर्छ भन्दै पेटीमा पनि बस्न दिँदैनन्,’ उनी भन्छन्। 

उनी कहिले आफ्नै साथीहरूबाट लखेटिन्छन् भने कहिले सर्वसाधारण र व्यापारीबाट। सडकपेटी कब्जा गरेर बस्ने उनकै समूहबीच हातपात हुन्छ। अलि सुकिलो र पानी ओत लाग्ने भुइँ रोज्ने टाठाबाठा हुन्छन्। 

६० वर्षीय घर्ती भने कहिलेकाहीँ त्यही चिसो भुइँ पनि रोजेर पाउँदैनन्। भुइँमा वास बस्न पनि ठुलो संघर्ष गर्नुपर्ने उनको गुनासो छ। 

‘आफूमाथिको दुर्व्यवहार कसलाई सुनाउने? कुनै निकाय छैन। त्यसैले चुपचाप भई दुर्व्यवहार सहन बाध्य हुन्छ,’ उनी भन्छन्। 

सडकपेटीमा रात बिताउने पुरुषको संघर्ष जति छ त्योभन्दा बढी महिलाका व्यथा छन्। 

सडकमा कुनै पनि मानव अलपत्र र बेवारिसे नभेटिऊन् भन्ने सेवाभावका साथ मानव सेवा आश्रमले गत असोज २६ देखि मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरू गरेको छ। जसको आफन्ती कोही छैन, बेवारिसे छ उसको उद्धार गरी आश्रय दिनु आश्रमको जिम्मेवारी हो। 

आश्रमका अध्यक्ष रामजी अधिकारी मेची–महाकालीको उद्धार यात्रामा कोशी प्रदेशबाट तीन दिनमा ४४ जनाको उद्धार गरिएको जानकारी दिन्छन्। 

उनका अनुसार मधेश प्रदेशको लहानमा १३ र जनकपुरमा ११ जनाको उद्धार गरिएको छ। कात्तिक २८ सम्म देशभरका सडकमानवको उद्धार गर्ने उनी बताउँछन्। 

जतिसुकै उद्धार कार्य सक्रिय गरे पनि सडकमा जाँडरक्सी खाएर स्वतन्त्र जीवन जिउन चाहने र माग्ने पेसा अपनाउने मानव आश्रमको उद्धार क्षेत्रअन्तर्गत नपर्ने उनको धारणा छ। 

‘सडकमा वास्तविक सडकमानव भए उद्धार गरेका छौँ,’ अध्यक्ष अधिकारी भन्छन्, ‘जाँडरक्सी खाने र माग्ने व्यक्तिलाई सम्हाल्नु हाम्रो चुनौती बनेको छ।’ 

सडकमा वास्तविक बेवारिसे मानव हुन् कि होइनन् भनी पहिचान गर्न एउटा ‘सडकमानव स्क्रिनिङ सेन्टर’ जरुरी रहेको उनी बताउँछन्। 

सबै सडकका मानवलाई त्यहाँ राखेर वास्तविक पीडित पहिचान गर्न सजिलो हुने अध्यक्ष अधिकारीको बुझाइ छ। उनका अनुसार आश्रमले हालसम्म १२ वर्षको अवधिमा ११ हजार सडकमानवको प्रत्यक्ष उद्धार गरेको छ। तीमध्ये १५० बालबालिका छन्। 

ज्येष्ठ नागरिक तीन सय छन् भने एक हजार सडकमानव मानसिक सन्तुलन गुमाएका छन्। आश्रमले सात प्रदेशको १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारी अलपत्र सडक मानवको उद्धार गर्ने संयन्त्र बलियो नहुँदा व्यवस्थापनमा समस्या आएको बताउँछन्। सडकमा जथाभावी डुल्ने, भौतारिने गर्दा कुलतमा पसेको, दुर्घटनामा पर्न सक्ने, शान्ति सुव्यवस्थामा खलल पुग्नेजस्ता गतिविधि हुने गरेको उनी बताउँछन्। 

‘प्रहरीले सडकमानव देख्नेबित्तिकै तत्काल खबर गर्ने संयन्त्रको अभाव छ,’ एसपी अधिकारी भन्छन्, ‘स्थानीय सरकार बढी जवाफदेही हुनुपर्ने अवस्थामा यसप्रति खासै चासो  दिएको देखिँदैन।’ 

सडकमानव अपराधी नभएकाले अलपत्र परेका वेला भेटिएमा प्रहरीले थुनामा राख्न नमिल्ने उनी उल्लेख गर्छन्। 

‘तत्काल उद्धार गर्ने स्रोतसाधन प्रहरीसमक्ष छैन। केही संस्था सहयोगी भए पनि पर्याप्त उद्धार संयन्त्र छैन,’ एसपी अधिकारी भन्छन्। स्थानीय सरकारले सहयोगी संघसंस्थासँग समन्वय गरी सडक मानव उद्धारको पहल गर्नुपर्नेमा उनी जोड दिन्छन्। (मधु शाही/रासस) 

कात्तिक ५, २०८१ मंगलबार १५:४६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।