अध्यादेशमार्फत ऐन ल्याएर साना दल फुटाउने प्रयास लोकतन्त्र र संसदीय मर्म विपरीत : कांग्रेस नेतृ संग्रौला

अध्यादेशमार्फत ऐन ल्याएर साना दल फुटाउने प्रयास लोकतन्त्र र संसदीय मर्म विपरीत : कांग्रेस नेतृ संग्रौला

काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई अध्यादेशमार्फत संशोधन गरेर ल्याउने चर्चाको विरोध गरेकी छिन्।

मंगलबार सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै संग्रौलाले अध्यादेशमार्फत संशोधन गरेर दल विभाजनका लागि बाटो खोल्न लागिएको भन्ने चर्चा लोकतन्त्र र संसदीय मर्मको सर्वथा प्रतिकूल र स्वेच्छाचारी कदम भनिन्।

दल विभाजन भन्दा पनि जनताका जल्दा बल्दा समस्याहरूलाई सम्बोधन गर्नतर्फ सरकारको ध्यान आकर्षित गराएकी छिन्। 

‘अत्यन्त जरुरी राष्ट्रिय अवस्था बाहेक अध्यादेश ल्याउनु सार्वभौम संसदको उपेक्षा मात्र होइन संसदीय बहुदलीय लोकतान्त्रिक पद्धतिको उपहास पनि हो। हाल अध्यादेशको मस्यौदा तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको र त्यसलाई अध्यादेशमार्फत जारी गर्ने कुराले आम जनतालाई नकरात्मक सन्देश प्रवाह गर्ने भएकाले यस्तो बेला राज्य सामु आएका जल्दा बल्दा समस्याहरूलाई सम्बोधन गर्नतर्फ केन्द्रित हुन सरकारसामु अनुरोधसमेत गर्दछु,’ उनले लेखेकी छिन्।

कांग्रेस-एमाले गठबन्धन सरकारले देशलाई दुई पार्टी प्रणालीतर्फ लैजान संविधान शंसोधन गर्ने भनिएसँगै अहिले अध्यादेश ल्याएर एकीकृत समाजवादी, रास्वपा लगायतका पार्टी फुटाउन लागिएको भन्ने चर्चा सुरू भएको छ।  

कात्तिक ५, २०८१ मंगलबार १४:५१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।