तीन वर्षको दुई कार्यकालका लागि आईसीसी अध्यक्ष बन्न सक्छन् जय शाह

तीन वर्षको दुई कार्यकालका लागि आईसीसी अध्यक्ष बन्न सक्छन् जय शाह

काठमाडौं : भारतीय क्रिकेट बोर्डका अध्यक्ष जय शाहले डिसेम्बर १ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को अध्यक्षको पदभार ग्रहण गरेपछि दुई कार्यकालका लागि छ वर्ष अध्यक्ष बन्नसक्ने देखिएको छ।

यसै साता दुबईमा बसेको आईसीसी बोर्डको बैठकले अध्यक्ष र स्वतन्त्र निर्देशकको कार्यकाल परिवर्तन गर्न सिफारिस गरेसँगै यस्तो सम्भावना बढेको हो।

यसअघि यी दुई पदको कार्यकाल दुई वर्षको हुने गरेको थियो। तर उक्त बैठकले तीन वर्षको दुई कार्यकालसम्म यी पदहरूमा रहनसक्ने गरी निर्णय गरेर सिफारिस गरिएको छ।

आईसीसीले सोमबार एक विज्ञप्ति जारी गर्दै यो सिफारिसलाई अब आफ्ना सदस्य राष्ट्रहरू (फुल र एसोशिएट सदस्यहरू) माझ अनुमोदनका लागि पठाइने बताएको छ।

यद्यपि यो सिफारिस किन र के कारणले गरियो भनेर बताइएको छैन। तर आईसीसीले राम्रो शासनका लागि गरिएको एक प्रयासको रूपमा यसलाई अर्थ्याएको छ।

यस परिवर्तनले अध्यक्ष र स्वतन्त्र निर्देशकहरूलाई प्रत्येक दुई वर्षमा चुनावको चिन्ता लिनु नपर्ने गरी सुरक्षा र स्थिरता प्रदान गर्ने आईसीसी बोर्डको विश्वास छ।

३५ वर्षीय शाह आईसीसीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। उनले अब ग्रेग बार्कको स्थान लिनेछन्। बार्क सन् २०२० मा पहिलो पटक निर्वाचित भएदेखि आफ्नो तीन कार्यकाल मध्ये दुई सेवा गरिसकेका छन्।

त्यसैगरी पेप्सीकोको पूर्व अध्यक्ष इन्द्रा नुयीले आफ्नो तीन कार्यकाल पूरा गरिसकेकाले  स्वतन्त्र निर्देशकको पद भने अहिले खाली छ।

सोकी बैठकबाट आईसीसीको पुरुष क्रिकेट समितिमा पनि परिवर्तन भएको छ। न्युजिल्यान्डका व्यापारी स्कट वेनिंकलाई पूर्ण सदस्य प्रतिनिधिमा नियुक्त हुँदा एसोशिएटबाट २८ वर्षीय नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सलाई प्रतिनिधि नियुक्त गरिएको छ।

कात्तिक ५, २०८१ मंगलबार १३:५७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।