शोभित पथमा सलोन, छोरीको नाममा कम्पनी खोलेर ‘रंगी’को छायांकन

शोभित पथमा सलोन, छोरीको नाममा कम्पनी खोलेर ‘रंगी’को छायांकन

काठमाडौं : नेपालमा सबैभन्दा धेरै फिल्म निर्माण गर्ने निर्माता तथा निर्देशक हुन् सोभित बस्नेत। उनले निर्माण गरेका अधिकांश फिल्म आफ्नो छोराछोरीको नामको कम्पनीबाट निर्माण गरेका छन्।

छोरो सलोन र छोरी सलिनाको नामबाट फिल्म निर्माण कम्पनी ‘सलोन-सलिना फिल्म्स’बाट निकै फिल्म निर्माण गरे उनले। पछिल्लो समय सोभितले ‘जय हो’ फिल्म पनि त्यही कम्पनीको ब्यानरमा निर्माण गरेका थिए।

अब सलोन बस्नेतले पनि बुवाकै सिको गर्दै छोरीको नाममा ‘सान्भी इन्टरटेनमेन्ट प्रालि’ नामक कम्पनी खोलेर त्यसकै ब्यानरमा फिल्म छायांकन समेत थालिसके।

मंगलबारबाट छायांकनमा सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा फिल्म ‘रंगी’ सुटिङ थालियो। फिल्मको ब्यानरका अलवा निर्देशक पनि परिवर्तन भएका छन्। सलोन बस्नेत आफैँ प्रस्तुतकर्ता रहेको फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गर्दैछन्।

‘रंगी’मा सलोन आफैँ मुख्य भूमिकामा रहेको फिल्ममा नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय रहनेछ। फिल्म ३० दिनमा छायांकन गर्ने तालिका छ। फिल्ममा बाबु–छोरीको सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाइएको छ।

सक्षम सुवेदीको निर्माण, सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सनको जिम्मा पाएका छन्।

बस्नेत परिवारले निर्देशक र ब्यानर फेरेजस्तै दर्शकले फिल्म हेर्दा पर्दा नफेरुन्, शुभकामना।

कात्तिक ५, २०८१ मंगलबार १३:१४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।