इन्डिगो, विस्तारा र एयर इन्डियाको ३० विमानमा बम आक्रमणको धम्की, एक हप्तामा दुई सय करोड नोक्सान

इन्डिगो, विस्तारा र एयर इन्डियाको ३० विमानमा बम आक्रमणको धम्की, एक हप्तामा दुई सय करोड नोक्सान

एजेन्सी : सोमबार अबेर राति ३० विमानलाई बम आक्रमणको धम्की आएको छ।

इन्डिगो, विस्तारा र एयर इन्डियाको घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा बम आक्रमणको धम्की आएको समाचार एजेन्सी पीटीआईले जनाएको छ। पछिल्लो ८ दिनमा १२० भन्दा बढी विमानमा बम आक्रमणको धम्की आएको छ।

इन्डिगोका चार उडानलाई बम आक्रमणको धम्की आएको कम्पनीका प्रवक्ताले जानकारी दिए। विस्तारा र एयर इन्डियाका प्रवक्ताहरूले पनि सोमबार सामाजिक सञ्जालमा केही उडानहरूले सुरक्षा खतराहरू प्राप्त गरेको पुष्टि गरेका छन्।

लगत्तै कम्पनीले सम्बन्धित अधिकारीहरूलाई जानकारी गराएर सबै प्रोटोकलहरू कडाइका साथ पालना गरिएको तीनै कम्पनीका प्रवक्ताहरूले बताए।

नागरिक उड्डयन मन्त्री राममोहन नायडूले सोमबार यी धम्कीहरू नक्कली भए पनि आफूहरूले यसलाई हल्का रूपमा लिन नसकिने बताए। यसविरुद्ध कडा कानून ल्याउने भन्दै उनले धम्की दिनेहरूको नाम ‘नो फ्लाई लिस्ट’मा समावेश गर्न सकिने बताए।

बम आक्रमणको धम्कीका कारण एक हप्तामा दुई सय करोडको नोक्सानी
विमानमा बम आक्रमणको धम्कीका कारण एक हप्तामा दुई सय करोडभन्दा बढीको नोक्सानी भएको छ।

यसरी धम्की आएपछि विमानलाई निर्धारण गरिएको एयरपोर्टको साटो नजिकको अर्को विमानस्थलमा अवतरण गराउनुपर्ने हुन्छ। यसले इन्धन खपत मात्रै गर्दैन, विमानको रि-चेकिङ, यात्रुलाई होटलमा राख्ने र गन्तव्यमा पुर्याउने व्यवस्था पनि गर्नुपर्छ।

एक रिपोर्ट अनुसार यी सबैमा करिब ३ करोड रुपैयाँ खर्च हुन्छ। यो साता विस्तारा, एयर इन्डिया, इन्डिगो, अकासा, स्पाइसजेट, स्टार एयर र एलायन्स एयरका ७० भन्दा बढी आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूलाई बम आक्रमणको धम्की आएको छ।

धम्कीका कारण अहिलेसम्म २ सय करोड रुपैयाँसम्मको नोक्सान भइसकेको भारतीय मिडियाले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन्।

कात्तिक ५, २०८१ मंगलबार १२:३७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।