अझै प्राथमिकतामा परेनन् बेथानचोकका विद्यालय, खानेपानी र शौचालयमा अत्यधिक क्षति

अझै प्राथमिकतामा परेनन् बेथानचोकका विद्यालय, खानेपानी र शौचालयमा अत्यधिक क्षति

काभ्रे : असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परेर ध्वस्त भएको बेथानचोक गाउँपालिका र यहाँका वडाहरू सम्पर्क विहीन हुन पुगे। बाढी पहिरोले गरेको क्षतिको एकिन विवरण २२ दिन बित्दा समेत आइसकेको छैन। तथ्यांक संकलन अझै जारी छ। पालिका र वडाले पूर्वाधारलाई प्राथमिकता दिइरहँदा यहाँका विद्यालयहरूमा भने अन्योलता छाएको छ।

पालिकामा सामुदायिक विद्यालय मात्र ३० वटा छन्। सबै विद्यालय पठनपाठन गर्नको लागि जोखिममा छ। केही विद्यालयको भवनमा क्षति नपुगे पनि वरपर पहिरो जाँदा विद्यालयको भवन भने भिरकै टुप्पोमा समेत पुगेको छ। यस्तो अवस्थामा चाँडो भन्दा चाँडो विद्यालयहरूको अनुगमन नगरे थप क्षति हुने जोखिम पनि उत्तिकै देखिन्छ।

‘म आफैँले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग फोन सम्पर्क गरेर अवस्थाको बारेमा बुझिरहेको छु। नजिकैकोमा त अनुगमनको लागि गएको पनि हुँ,’ पालिकाका शिक्षा शाखा अधिकृत पुष्पा राईले उकेरासँग भनिन्, ‘मैले कुरा गर्दा जम्मा १८ वटा विद्यालयसँग मात्र कुरा हुन सक्यो। अरु विद्यालयका प्रधानाध्यापक अझै सम्पर्कमा आउन सक्नु भएको छैन।’

शिक्षा अधिकृत राईका अनुसार सबै विद्यालय पूर्ण क्षति नभए पनि त्यहाँका वरपर भिर भासिँदा विपद् पछिको जोखिममा छन्। खानेपानी र शौचालयमा धेरै क्षति हुँदा तत्काल विद्यालय खुलिहाल्यो भने विद्यार्थीहरूलाई समस्या हुने सम्भावना प्रवल छ। पालिकाको शैक्षिक क्यालेन्डर अनुसार विद्यालय भने तिहारसम्म बिदा छ।

जग भासिएको पार्वती मावि !
पालिकाकै भवनको पछाडि जोडिएको एक विद्यालय हो, पार्वती माध्यमिक विद्यालय। करिब १३ रोपनी क्षेत्रफल ओगटिएको यस विद्यालयको नव निर्मित भवनको पूरै जग भासिएको देखिन्छ। २०७२ सालको भूकम्पको चपेटामा समेत परेको यस विद्यालय ०७५ सालमा भने देशकै नमुना विद्यालयका लागि नेपाल सरकारद्वारा छनौट समेत भएको थियो।

शैक्षिक, भौतिक र व्यवस्थापन सुधारको योजना सहित अगाडि बढेर एउटा चरणमा पुग्दै गर्दा असोजमा आएको बाढीपहिरो तथा डुबानले फेरि क्षति पुगेको विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले बताए।

भौतिक क्षतिको हिसाबले क्षतिग्रस्त बेथानचोकलाई सरकारले तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका स्थानीय तहमा यस गाउँपालिका पनि परेको छ। यसको चपेटामा यहाँका विद्यार्थीहरू समेत परे। धेरै विद्यार्थीहरूको शैक्षिक सामग्रीहरू समेत पुरिएको र बगाएको छ।

क्यालेन्डर अनुसार नै बिदा भएको समय पनि भएकाले अहिले केही हदसम्म विद्यार्थीलाई भने राहत भएको प्रधानाध्यापक शर्मा बताउँछन्।

‘अहिले पठनपाठन बन्द हुँदा हामीलाई व्यवस्थापन गर्न सजिलो भएको त छ। तर यसले गर्दा बालबालिकाहरूमा मानसिक त्रास पनि भएको छ,’ प्रअ शर्माले उकेरालाई बताए, ‘घरवारविहीन भएका र आफन्त गुमाएका विद्यार्थीहरूको लागि अब हामीले मानसिक परामर्श समेत आवश्यक रहेको महसुस गरेका छौँ। विद्यालय खुल्ने बित्तिकै उनीहरूलाई कक्षाकोठामा मनोसामाजिक परामर्शसँगै नियमित शिक्षा अगाडि बढाउनुपर्ने चुनौती हामीसँग छ।’

प्रअ शर्मा

बेथानचोक वडा नम्बर दुईमा अवस्थित यस विद्यालयको कक्षाकोठा र पठनपाठनको सामग्री भने सबै राम्रै देखियो। तर, पूर्वतर्फ गेलुङ खोला र दक्षिणतर्फ पाटने खोलाले भने कटान भएको छ। उकेराकर्मी विद्यालय क्षेत्रमा पुग्दा पाटने खोलातर्फको भागमा छ वटा पिलर सहित जमिनमुनिको डीपीसीनै खोलेर भासिएको छ।

‘विद्यालयको दुईतर्फ खोला भएको कारण यसको भवन असुरक्षित छ। यसको लागि दुवैतर्फको खोलामा राम्रोसँग तटबन्ध गरेर बलियो बनाउन आवश्यक देखिन्छ’, प्रअ शर्माले भने।

त्यस्तै गेलुङ खोलाले पनि पठनपाठन भइरहेको चार तले भवनमा क्षति पुर्याएको छ। पहिरोले विद्यालयको कम्पाउन्ड समेत भत्काएको हुँदा यो विद्यालय अझै पनि जोखिममै छ। यसलाई खोलाबाट तत्काल सुरक्षित गर्नुपर्ने देखिन्छ। विद्यालयको क्षति बारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा क्षतिको विवरण पठाइसकेको शर्माले बताए।

कहिले पर्ला विद्यालय प्राथमिकतामा ?
‘अहिले सम्म बाढीपहिरो पश्चात् हाम्रो पालिकाको पहिलो प्राथमिकता सडक सञ्चालन गर्न र यातायातलाई सुचारु गर्ने तर्फ नै रह्यो। त्यसपछि विद्युत र सञ्चार सम्पर्कबाट नै टाढा हुनपर्यो,’ उनी भन्छन्, ‘विद्यालय पनि बिदा भएको कारण अहिले यहाँको जनप्रतिनिधिहरू सडक र यातायात सँगै विद्युतमा लागिरहँदा विद्यालयहरू प्राथमिकतामा परेकै छैन।’

विद्यालय सञ्चालनमा आइहाल्यो भने खानेपानी र शौचालयको अभाव हुने पनि उनको भनाइ छ। पार्वती माविकै पनि एउटा शौचालय पुरिएको र अर्को भने जमिन भासिएको रहेछ। जसले गर्दा जोखिम उच्च छ। गेलुङ बजारकै खानेपानीसँग विद्यालयको खानेपानी जोडिएको कारण त्यो पनि अहिले ठप्प छ।

यहाँ आठ सय विद्यार्थी पढिरहेका छन्। ढुंखर्क सँगै खानीकोला गाउँपालिका र महाभारत गाउँपालिकाका विद्यार्थी समेत यहाँ पढ्न आउने उनले बताए। सिभिल इन्जिनियरिङ समेत पढाइ भइरहेको कारण बाहिरी जिल्लाबाट समेत यहाँ विद्यार्थी आइरहेका छन्। जसले गर्दा विद्यार्थीहरूलाई अहिले भइरहेको कक्षाकोठा पर्याप्त छैन।

नमुना विकास कार्यक्रम अन्तर्गत विद्यालय छनोट भएकाले २४ वटा कक्षाकोठा निर्माणाधीन अवस्थामै भए पनि बजेट नै स्थगित भए पनि अहिले त्यसको काम पनि प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन। यसबारेमा विद्यालयले वडा र गाउँपालिकालाई समेत ध्यानाकर्षण गराइसकेको छ।

विद्यालयमा बालमैत्री डेस्कबेन्च समेत अपर्याप्त देखियो। विद्यालय पूर्ण प्रविधिमैत्री बनाउने भनिए पनि प्रविधिमैत्री हुन सकेको छैन। जसले गर्दा अझै पनि यस क्षेत्रका विद्यार्थी पार्वती माविलाई छोडेर पनौती झारिरहेका छन्। विद्यार्थी क्षमता गुरुयोजना अनुसार यस विद्यालयको विद्यार्थी क्षमता १२ जना भएको समेत प्रअ शर्मा बताउँछन्।

‘शिक्षकहरूकै पनि हाम्रोमा अभाव छ,’ उनी भन्छन्, ‘१० कक्षा सम्म त हामीलाई पर्याप्त छ। तर ११, १२ का लागि जम्मा दुई जना मात्र शिक्षक हुनुहुन्छ। दरबन्दीमा १९ जना शिक्षक हुने भनिए पनि निजी क्षेत्रबाट १० जना हुनुहुन्छ।’

२०१६ सालमा पार्वती प्राथमिक विद्यालयको रूपमा स्थापित यस विद्यालय ०२९ सालमा निम्न माध्यमिक, ०४२ सालमा माध्यमिक र ०६३ सालमा उच्च माध्यमिक भएको हो। ०६९ देखि भने यहाँ स्नातकसम्म पढाइ हुँदै आएको छ।

पहिला एक रोपनी चार आना मात्र जमिन रहेको विद्यालयको नाममा अहिले लगभग १३ रोपनी जग्गा छ। ०७५ सालमा नेपाल सरकारद्वारा नमुना विद्यालय विकासका लागि समेत पार्वती मावि छनोट भयो।

कात्तिक ५, २०८१ मंगलबार ११:०३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।