रवि बुधवार प्रहरी हिरासत मुक्त हुने रास्वपा सचेतक परियारको ‘भविष्यवाणी’

रवि बुधवार प्रहरी हिरासत मुक्त हुने रास्वपा सचेतक परियारको ‘भविष्यवाणी’

पोखरा :  सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधवार हिरासतमुक्त हुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ‘भविष्यवाणी’ गरेका छन्।

अदालतले आइतबार मात्रै रविलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको थियो। छ दिनको म्यादको गणना उनी काठमाडौँमा पक्राउ परेको शुक्रवारबाट गणना हुने भएकाले बुधवार सकिन्छ। बुधवार म्याद थप नभएको अवस्थामा उनी हिरासतमुक्त हुन्छन्।

अदालतको आदेशमा पक्राउ परेका रविमाथि राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरेको भन्दै रिहा गर्न रास्वपाले सडकबाट दबाब बढाइरहेको छ। तर सोमबार पोखरामा सञ्चारकर्मीहरूसँग बोल्दै परियारले अदालतप्रति रास्वपाको उच्च सम्मान रहेको दाबी गरे।

रविमाथि ठगीमा प्रहरीले २५ दिनसम्म हिरासतमा राख्न अदालतबाट अनुमति पाउन सक्छ भने सङ्गठित अपराधमा हिरासतमा राख्न पाउने कानुनी प्रावधानै तीन महिनाको छ। रविमाथि सुर्यदर्शनमात्रै हैन सुप्रिम सहकारीको रकम अपचलन लगायतमा संलग्नताबारे समेत छानबिन हुनेछ।

तर उनले बुधवार अदालतले लामिछानेलाई जेल( प्रहरी हिरासत) मा राखेर अनुसन्धान गर्नुपर्दैन भनेर छोड्ने दाबी गरे। उनले नेपालको इतिहासमा खासखास समयमा अदालतले न्याय सम्पादन गरेको बताए दाबी समेत गरे। 

सरकारले अदालतको न्यायप्रणालीलाई बिगार्ने काम गरेको उनको आरोप थियो। रास्वपाले हरेक जिल्लाबाट सय जना कार्यकर्तालाई पोखरामा आउन निर्देशन दिएको सर्कुलर सार्वजनिक भए पनि पोखरामा बाहिरबाट पार्टीका कार्यकर्ता नआएको उनको दाबी थियो।

कात्तिक ४, २०८१ सोमबार २२:५४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।