तनहुँमा बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा

तनहुँमा बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा

तनहुँ : तनहुँको देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ। 

गाउँपालिकाले अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो। पालिकाका पाँचवटै वडामा बसोबास गर्ने सीमान्तकृत बोटे र चेपाङसहित दलित र ब्रामु समुदायका बासिन्दाको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए। 

उनका अनुसार निःशुल्क स्वास्थ्य बीमाका लागि चालु आव २०८१/८२ मा ११ लाख विनियोजन गरिएको छ। 

उनले भने, 'ती समुदायको मात्र नभइ अति विपन्न ब्राह्मण, क्षेत्रीका नागरिकको पनि गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिने नीति लिएको छ।'

आर्थिक अभावमा पछाडि पारिएका समुदायहरू न्यूनतम् स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर यसै आर्थिक वर्षदेखि ती जातिहरूको स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गरिएको अध्यक्ष थापाले बताए। 

उनले सीमान्तकृत र लोपोन्मुख समुदायका सदस्यहरूको स्वास्थ्य, शिक्षालगायत अन्य विभिन्न क्षेत्रमा पनि सहयोग गर्ने पालिकाको नीति रहेको सुनाए।  

कात्तिक ४, २०८१ सोमबार २२:०४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।