नाजिर अभिनीत फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ को टिजरमै सस्पेन्स

नाजिर अभिनीत फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ को टिजरमै सस्पेन्स

काठमाडौँ : नाजिर हुसेन अनि सृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ को पहिलो टिजरको अन्त्यमा ह्विलचियरमा हातमा हत्कडी लगाएको अनि रामनामीले आँखा छोपेको अवस्थामा थिइन् सृष्टि। अर्थात बन्धक।

पहिलो टिजरमा नाजिर र सृष्टि प्रेममा रहेको, ट्रेन यात्रा गरेको लगायतका दृश्यले कतै एक युवती भारत जानेक्रममा हराएको कथामा बनेको फिल्म हो कि भन्ने देखाएको थियो।

तर सोमबार पुरै उल्टो कथा देखाउने टिजर रिलिज गर्यो टिमले। दोस्रो टिजरमा पनि उही ट्रेन, नाजिर अनि सृष्टिको सम्बन्धहरूकै वरपर घुमाएको छ। तर टिजरको इन्डिङले भने पहिलो टिजर हेरेकाहरूलाई सरप्राइजदिँदै नाजिरको गलामा चक्कु तेर्स्याइरहेकी सृष्टि देखिन्छिन्। नाजिर बन्धक देखिए।

यसले यो फिल्म नेपाल र भारतबीचको मानव बेचबिखनमा बनेको हो कि भन्ने त देखाउँछ तर कथामा धेरै ट्विस्टहरु रहेको दुवै टिजरले देखाएको छ।

फिल्ममा नाजिर देखिँदै आएको भन्दा भिन्न गेटअपमा देखिएका छन्। दुबै टिजरले कतै सृष्टी प्रहरीको भूमिकामा त हैन भन्ने भन्ने संकेत पनि देखिन्छ। दुबै टिजरमा निर्माण टिमले सस्पेन्स निर्माण गर्न भरपुर मिहेनत गरेका छन्। टिजरको कटिङ राम्रो छ।

टिजरको सस्पेन्स त भयो नै, यो फिल्मले उत्सुकता बढाउनुको अर्को कारण हो ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशनमा कमब्याक।

उजेली नेपाली टेलिफिल्महरुमध्ये निकै प्रभावशाली मानिन्छ। केटी हराएको सूचनाबाट उनी पुन निर्देशनमा फर्किएका छन्। फिल्मको निर्माण र स्क्रिप्ट समेत उनैले लेखेका हुन्।

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ।

कलाकारहरूको चयनले भने यो फिल्म नेपाल अनि भारतको अन्तर्देशीय कथामा केन्द्रित रहेको सहजै अनुमान लगाउन सकिन्छ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मूल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन रहेको छ।

कात्तिक ४, २०८१ सोमबार २२:०२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।