स्वास्थ्य मन्त्रालयले गर्यो ४६ जना कर्मचारीको सरूवा र जिम्मेवारी हेरफेर, खरिद सेटिङका बदनाम चौरासिया जहाँको त्यहीँ

स्वास्थ्य मन्त्रालयले गर्यो ४६ जना कर्मचारीको सरूवा र जिम्मेवारी हेरफेर, खरिद सेटिङका बदनाम चौरासिया जहाँको त्यहीँ

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार ४६ जना कर्मचारीको जिम्मेवारी हेरफेर, पदस्थापना र सरूवा गरेको छ। जसमध्ये अधिकांश प्रशासनतर्फका कर्मचारी रहेको मन्त्रालयको कर्मचारी प्रशासनका एक कर्मचारीले उकेरालाई जानकारी दिए। 

मन्त्रालय स्रोतका अनुसार ११ जना शाखा अधिकृत, तीन जना तथ्यांक अधिकृत, २६ जना नायब सुब्बा (नासु) र ४ जना खरिदार गरी ४४ जना कर्मचारीको सरूवा पदस्थापन र जिम्मेवारी हेरफेर भएको हो।

११ जना शाखा अधिकृत र तीन जना तथ्यांक अधिकृतमध्ये नौ जनाको सरूवा र पाँच जनाको पदस्थापना भएको मन्त्रालय स्रोतले जानकारी दियो। २६ जना नायब सुब्बा (नासु)मध्ये १७ जनाको सरूवा र नौ जनाको पदस्थापना भएको छ। 

त्यस्तै, चार जना खरिददारमध्ये तीन जनाको सरूवा र एक जनाको पदस्थापना भएको प्रशासन स्रोतले जानकारी दियो।

सोमबार जिम्मेवारी हेरफेर, पदस्थापना र सरूवा गरिएका ४६ मध्ये दुई जना स्वास्थ्यतर्फका सरूवा हुने कर्मचारीमा टीकाराम पनेरू र युवराज सुवेदी रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ। 

वीर अस्पतालको स्टोरमा कार्यरत पनेरुरूलाई पशुपती होमियाप्याथी सेन्टर र सुवेदीलाई लगनखेलस्थित मानसिक अस्पतालमा सरुवा गरिएको हो। अधिकांश लामो समयदेखि एकै ठाउँमा बसेका कर्मचारीलाई मन्त्रालय, विभाग, विभिन्न केन्द्र, अस्पताल लगायतमा जिम्मेवारी हेरफेर, पदस्थापना र सरूवा गरिएको मन्त्रालय स्रोतको भनाई छ।

तर, ४६ जना कर्मचारीको सरूवा तथा पदस्थापना र जिम्मेवारी हेरफेर हुँदासमेत लामो समयदेखि स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखा (खरिद इकाई)को प्रमुखमा दरबन्दी विपरीत रहेका डा. सुरेन्द्र चौरासियालाई भने स्वास्थ्य मन्त्री प्रदीप पौडेलले हटाएनन्।

सङ्गठन संरचना (अर्गानोग्राम) अनुसार स्वास्थ्य सेवाको हेई, नवौँ–दसौँ तहको वरिष्ठ जनस्वास्थ्य प्रशासक आपूर्ति व्यवस्थापन शाखाको प्रमुख बन्ने नियम छ। तर, लामो समयदेखि खरिद सेटिङ ‘किङ’का रुपमा परिचित बदनाम डा. चौरासियालाई मन्त्री पौडेलले नहटाएको बुझिएको छ।

डा. चौरासिया आफैंले केही समयअघि उकेरालाई आफू एकीकृत चिकित्सा समूहको वरिष्ठ स्वास्थ्य प्रशासक, दसौँ तहको कर्मचारी भएको जानकारी दिएका थिए। उनको भनाई अनुसार नै डा. चौरासिया आपूर्ति व्यवस्थापन शाखामा दरबन्दी नै नभएको ठाउँमा लामो समयदेखि बसिरहेको पुष्टि हुन्छ। 

उनी त्यहाँ बस्न सफल हुनुको उद्देश्य प्रष्ट देखिन्छ– खरिद सेटिङ। व्यवस्थापन महाशाखाकै आपूर्ति व्यवस्थापन शाखामा दिपक अधिकारीसमेत लामो समयदेखि सेटिङ अनुसारको टेण्डर कागजात बनाउन माहिर कर्मचारीका रूपमा चिनिँदै आएका छन्। 

विभागका स्थायी बायोमेडिकल इन्जिनियर आशिस चौहान र करारकी बायोमेडिकल इन्जिनियर पद्यमा मिश्रा सेटिङ अनुसारको प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर चाहेकै सप्लायर्सलाई टेण्डर पारिदिन सहजीकरण गरिदिने माहिर र बदनाम खेलाडी हुन्।

कात्तिक ४, २०८१ सोमबार २१:४३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।