एमालेले स्पष्टीकरण सोध्ने भनेपछि बिन्दा भन्छिन् 'जसले करोड दिन्छ, उसले अर्ब फिर्ता पाउने सोच राखेकै हुन्छ'

एमालेले स्पष्टीकरण सोध्ने भनेपछि बिन्दा भन्छिन् 'जसले करोड दिन्छ, उसले अर्ब फिर्ता पाउने सोच राखेकै हुन्छ'

काठमाडौं : एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पार्टीलाई जसले करोड दिन्छ उसले अर्ब फिर्ता गर्ने सोच राखेको हुने बताएकी छन्। 

भाटभटेनीका संचालक मीन बहादुर गुरुङले दान दिएको जग्गामा एमालेले भवन बनाउन लागेको विषयमा फरक मत राखेकै कारण पार्टीले नेतृ पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत रणनीतिक तवरले प्रतिकार गरेकी छन्। 

नेतृ पाण्डेले विगत भूमिगतकालदेखि जनताको एक/एक पैसा जम्मा गरिएर निर्माण भएको पार्टीमा करोड दिएर अरब फिर्ता गर्ने सोच भएका मान्छेहरू हाबी हुन थालेको बताइन्। 

शोषक वर्गले दिएका लाख रूपैयाँले हामीलाई कमजोर बनाउँछ भन्दै उनले लेखी छन्, 'जसले लाख दिन्छ, करोडको अपेक्षा राखेको हुन्छ। जसले करोड दिन्छ, उसले अरब फिर्ता पाउने सोच राखेकै हुन्छ।' 

उनले भूमिगतकालमा सेल्टर लिएर बस्दा जनताको सामिप्यताको प्रसंग जोड्दै त्यसबेला एक/एक पैसा जम्मा गरेर पार्टी जोगाउने श्रमजीवी जनता कहाँ छन्? भनेर प्रश्न समेत गरेकी छन्।

एमाले सचिवालय बैठकले नेतृ पाण्डेसहित नेताद्वय भीम रावल र उषकिरण तिम्सेनालाई केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। 

कात्तिक ४, २०८१ सोमबार २१:१९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।