श्रीलङ्कालाई हराउँदै भुटान शीर्ष स्थानमा उक्लियो

श्रीलङ्कालाई हराउँदै भुटान शीर्ष स्थानमा उक्लियो

काठमाडौं : श्रीलङ्कालाई हराउँदै भूटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’को अङ्कतालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भूटानले श्रीलङ्कालाई ४–१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको हो। 

जितसँगै भूटानले दुई खेलबाट चार अङ्क जोडेको छ। पहिलो खेलमा भूटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो। 

आजको खेल सुरुआती सातौं मिनेटमा भूटानकी डेकी ल्जोहामले गोल गर्दै पहिलो अग्रता दिलाइन्। त्यस्तै, खेलको २३औं मिनेटमा श्रीलङ्काकी  कप्तान थुशानी मधुशिकाले गोल गर्दै खेल एक/एक गोलको बराबरीमा ल्याइन्। 

त्यसपछि खेलको ३२औँ मिनेटमा भूटानकी दोर्जी एडेनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाइन्। खेलको ७६औँ मिनेटमा डेकीले व्यक्तिगत दोस्रो गोल गर्दै भूटानलाई ३–१ को अग्रता दिलाइन्। 

डेकीले गोल गरेलगत्तै नामग्याल डेमाले गोल गर्दै भूटानलाई ४–१ गोलको जित दिलाइन्। 

कात्तिक ४, २०८१ सोमबार २०:२८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।