प्रकाश सपुत आफैंले खेलेको फिल्म‘ पूर्ण बहादुरको साराङ्गी’को प्रमोसनमा नहिँड्दा घाटा कसलाई?

प्रकाश सपुत आफैंले खेलेको फिल्म‘ पूर्ण बहादुरको साराङ्गी’को प्रमोसनमा नहिँड्दा घाटा कसलाई?

काठमाडौं : यही कात्तिक १५ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको साराङ्गी’को निर्माण टिमले जोडतोडले प्रचारप्रसार गरिराखेको छ। यतिबेला यस फिल्मका मुख्य कलाकार विजय बराल, अन्जना बराइली तथा निर्माता टिम पूर्वका शहर घुमिरहेका छन्। धरान, इटहरी, विराटनगर, दमक लगायत स्थानमा आफ्नो फिल्मका लागि दर्शक बोलाइरहेका छन् उनीहरू। 

तर, यसै फिल्मका मुख्य अभिनेता प्रकाश सपुतको भने चालचुल देखिंदैन। उनी फिल्मको प्रचारप्रसारको देश दौडाहामा परै जाओस्, आफ्नो सामाजिक सञ्जालमासमेत राख्न अल्छी मानिरहेका छन्। केही दिनअघि फिल्मको ट्रेलर रिलिजमा समेत प्रकाश उपस्थित नभएपछि निर्माण टिमसँगको मनमुटाव छताछुल्ल पोखियो। 

प्रकाश आफैंले निर्माण गरेको फिल्म ‘बसन्त’ रिलिज गर्ने भन्ने सल्लाह बमोजिम कुरा भएता पनि ‘पुर्ण बहादुरको साराङ्गी’टिमले अगावै प्रदर्शन गरेपछि रुष्ट बनेका हुन्। फिल्म प्रदर्शनमा आउन १० दिनको बाँकी रहँदा पनि उनी प्रमोसनमा हिँडेका छैनन्। 

फिल्म प्रमोसनमा हिँड्न नपाउनुको कारण उनको आफ्नै लेखन तथा निर्देशन फिल्म ‘बसन्त’को छायांकन भइरहेकाले हो। प्रकाश फिल्मको ट्रेलर रिलिज कार्यक्रममा नआएपछि निर्माण टिमले आफूहरूले प्रकाशलाई बुझियो भन्ने भाव प्रकट गर्यो। त्यसपछि प्रकाशले पनि सामाजिक सञ्जालमार्फत अन्तिम स्पष्टीकरण भन्दै आफ्नो समय नमिलेको उल्लेख गरेका छन्। 

‘फिल्म अचानक प्रदर्शन हुने भएपछि म सरप्राइज भएँ। मसँग लडि बस्ने इनर्जी भएन। मैले केही भन्न सकिँन,’ उनले लेखेका छन्, ‘यतिखेर म ‘बसन्त’को छायांकनमा छु। यसको सम्पूर्ण जिम्मेवारी आफ्नै काँधमा भएकोले समय मिलाउन अलि गाह्रो भएको छ र मानसिक रूपमा पनि अरू सोच्न सकिने अवस्था छैन।’

उनले आफू उति सारो प्रचार प्रसार गर्न जान्ने र जाँगर गर्ने कलाकार पनि नभएको भनेका छन्। 

पर्दामा सपना, संघर्ष र इमानको कथा बनाएर पर्दा बाहिर बदनामी गर्नेहरूसँग काम गर्न नपरोस् भन्दै उनले कम्तीमा मर्यादित बन्न आग्रह गरेका छन्। 

उनी भन्छन्, ‘... सिर्जना, दर्शकको शुभेच्छा र स्वयं सिर्जनाको दमले चल्छ। सर्जक, निर्माता वा कलाकारको दम्भले होइन। म यो कुरामा सधैं स्पष्ट छु।’

प्रकाशको भनाइलाई लक्षित गर्दै फिल्मका निर्माता विनोद पौडेलले आफूहरूलाई बेइमानीको ट्याग लगाएर अब कहिल्यै काम नगर्ने बाचा गरे पनि आफुहरु भने उनीसँग काम गर्न तयार भएको जबाफ दिए। 

उनले फिल्ममा काम गर्ने बेलामा भएको सम्झौतामा आफ्नो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रकाशको निर्देशनमा बनिरहेको फिल्म ‘बसन्त’पछि नलगाउने भएको स्वीकार गर्दै त्यसमा माफी मागेका छन्। तर, दशैं तिहारमा निर्माताको लगानी उठाउन सकिन्छ कि भन्ने हिसाबले कात्तिक १५ लाई रोजिएको उनको दाबी छ। 

उनी थप्छन्, ‘हामीले यो फिल्मको लागी प्रस्ताव गर्दा ‘बसन्त’पछि रिलिज गर्ने सर्तमा नै क्लियर भएर लिखित सम्झौता भएको हो र यो कुरालाई हामीले कहिँकतै नकारेको छैनौँ। यो कुरामा हामीले माफी पनि मागेको भिडियो पनि छ होला मिडियामा तर हामीले रिलिज डेट तोक्नु अगाडि सम्पादनमा बसेर सहमतिमै  पोष्टर फ्याँकिएको हो।’

यता प्रकाश सपुतले गत वर्ष फिल्म ‘परदेशी २’बाट अभिनेताका रुपमा डेब्यु गरेका थिए। उनलाई यो फिल्म चलाउनु उनलाई चुनौतीपूर्ण छ। पहिलो फिल्म सफल भएपछि त्यही साख जोगाउनका लागि उनले दोस्रो फिल्म चलाउनुपर्ने नै हो। 

तर, प्रकाश आफैं प्रमोसनमा नहिँड्दा घाटा त सपुतलाई नै हुने हैन र! 

कात्तिक ४, २०८१ सोमबार १७:०२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।