जात्रा पर्वहरूमा आफूविरूद्ध पटकपटक नाराबाजी हुन थालेपछि रिसाए प्रधानमन्त्री ओली

जात्रा पर्वहरूमा आफूविरूद्ध पटकपटक नाराबाजी हुन थालेपछि रिसाए प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन्। 

प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताए। 

'राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ। तर, संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षाैं लाग्न सक्छ। यसतर्फ हामी सचेत हुनुपर्छ', उनले भने। 

त्यसअघि इन्द्रजात्रा, गौरा पर्व, नेशनल डे कन्सर्ट लगायतका सार्वजनिक कार्यक्रमहरूमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी तथा विरोध प्रदर्शन भएका थिए। त्यसमा पनि गौरा पर्वमा प्रधानमन्त्री ओलीसँगै कांग्रेस सभाप्रति शेरबहादुर देउवालाई नाराबाजी गर्ने दुई जना युवा पक्राउसमेत परे। 

नेपालमा मात्र हैन, संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका बेलासमेत त्यहाँ ओलीविरुद्ध विरोध भएपछि उनी रिसाएका हुन्। 

त्यस अवसरमा समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाल संवत्लाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउन २०८० कात्तिक २७ को मन्त्रिपरिषद्बाट भएको निर्णयलाई सबै तह र निकायमा कार्यान्वयनका लागि निर्देशित गर्न माग गरे। 

उनले राष्ट्र बैंकबाट निष्कासन हुने नोटमा नेपाल संवत्को पनि प्रयोग गर्न र विदेशस्थित नेपाली नियोगहरूमा नेपाल संवत्को नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन आग्रह गरे। 

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सरकारी निकायमा नेपाल संवत्को प्रयोगको अवस्थाबारे अनुगमनको व्यवस्था गर्न सुझाव दिए। सरकारले २०६५ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।

यस वर्षको नेपाल संवत् ११४५ कछलाथ्व पारू यही कात्तिक १७ मा मनाइँदैछ। त्यस दिन बिहान भक्तपुरको मध्यपुर थिमीस्थित साख्वाको प्रतिमामा माल्यार्पण र काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रम हुनेछ। 

समारोह समिति र प्रतिष्ठानले ती कार्यक्रममा  प्रधानमन्त्री ओलीलाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा दिएको छ।  

कात्तिक ४, २०८१ सोमबार १५:३७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।