'मेरो सरकारले गिरफ्तार गरेको व्यवसायीबाट जग्गा दान लिएर प्रधानमन्त्रीले सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरे'

'मेरो सरकारले गिरफ्तार गरेको व्यवसायीबाट जग्गा दान लिएर प्रधानमन्त्रीले सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरे'
फाइल

जुम्ला : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन्। 

प्रेस सेन्टर जुम्लाले गरेको पत्रकार भेटघाटमा उनले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताए।

‘मैले उतिबेला नै भनेको थिएँ, सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो। सरकार गठनको तीन महिना पुग्दैछ,तपाईंहरूले सबै देखिरहनुभएको छ’, अध्यक्ष प्रचण्डले भने, ‘मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबर्जस्ती व्यक्तिमा नाममा लैजाने जस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो र अदालतमा मुद्दा पनि चलिरहेको छ। तिनै व्यवसायीबाट जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैंले सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन्।’

सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै उनले अब सरकार गठन भएको सय दिन पूरा भएपछि बिरोधका कार्यक्रम सुरू गर्ने जानकारी दिए।

उनले भने, ‘सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौं। आज मात्रै हामी विपक्ष दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिदैछौं र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरू हुन्छन्।’

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रियरुपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदमी लिइरहेको बेला संसदका पहिलो र दोस्रो दलले अस्वाभाविक र अप्राकृतिकरुपमा आफूलाई हटाएको बताए। 

दुई छिमेकी देशको भ्रमणमा ऐतिहासिक समझदारीहरू भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले थपे, ‘संयुक्त राष्ट्रसंघको महासभा, विश्व खाद्य सम्मेलन, कोप २८ सम्ममा लिएको हस्तक्षेपपूर्ण पहलकदमीले विश्वको ध्यान नेपालतर्फ आकर्षित भएको थियो।’  

कात्तिक ५, २०८१ सोमबार १५:०३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।