चितवनबाट १६ कैदीबन्दी सारियो, आठ जना रसुवा र सात जना काठमाडौं पठाइए

चितवनबाट १६ कैदीबन्दी सारियो, आठ जना रसुवा र सात जना काठमाडौं पठाइए

चितवन : चितवन कारागारमा रहेका कैदीबन्दीमध्ये १६ जनालाई स्थानान्तरण गरिएको छ। कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो।

कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार स्थानान्तरण गरिएकामध्ये आठ जनालाई रसुवा, सात जनालाई काठमाडौं र एक जनालाई तनहुँ स्थानान्तरण गरिएको छ।

उनीहरूमध्ये छ जनाको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं तथा अन्यलाई उनीहरूको इच्छाअनुसार स्थानान्तरण गरिएको उनले बताइन्।

यहाँ संघीय भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र अन्य साना अस्पतालमा विशेषज्ञ सेवासहितको सुविधा पाउने भएकाले जिल्लास्थित कारागारमा अन्य जिल्लाबाट कैदीबन्दी यहाँ ल्याउँदा चाप बढेको हो।

दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ८४ कैदीबन्दी रहेका छन्। यस्तै २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४५, उनीहरूसँग आश्रित तीन बालबालिका र दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा सात सय ३३ जना रहेका छन्।

‘नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा कारागार नहुँदा त्यहाँबाट समेत कैदीबन्दी यहाँ ल्याइने हुँदा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता छ’, सूचना अधिकारी ढुङ्गानाले भने।

कात्तिक ४, २०८१ सोमबार १३:३९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।