२० दिनपछि बेथानचोक पुग्दा देखिएको बिजोग

२० दिनपछि बेथानचोक पुग्दा देखिएको बिजोग

काभ्रे : खोपासीबाट उकालो लाग्दा गाउँसम्मै कालोपत्रे सडक र अन्य पूर्वाधारले सम्पन्न काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक अहिले कहालीलाग्दो देखिन्छ। जताततै ढलेको अवस्थामा बिजुलीको खम्बा, पुरिएको ट्रक र डोजर। भ्वाङ परेको, लेदो पसेको र उत्तानो परेर ढलेको घरहरू छरपष्ट। त्यसमाथि घरजत्रै ढुङ्गाहरू बाटोदेखि घर भित्रसम्म। यस्तै छ अहिले बेथानचोकको दृष्य।

चिरा परेको बाटो। ढलेको रुख। त्रासमा यात्रा गरिरहेका यात्रुहरू। गाडीमा बसेर बाहिरको यी दृश्य हेर्दै गर्दा धेरैको मन कटक्क खान्छ। काभ्रेपलान्चोकको सबैजसो पालिका यसबाट बढी प्रभावित भए। मानवीय क्षतिको आधारमा जिल्लाको पनौती नगरपालिकामा सबै भन्दा बढी मानवीय क्षति भए पनि भौतिक क्षतिको आधारमा भने बेथानचोक गाउँपालिका ध्वस्त भएको देखिन्छ।

असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट कति क्षति भयो भन्ने यकिन तथ्याङ्क सरकारले अझै पनि जुटाउन सकेको छैन। तर, त्यस पछि मारमा परेको स्थानीयको दु:ख भने कम भएको छैन। यसपाली घर, व्यक्ति, पशु र खेत जस्तै उनीहरूको दशैं पनि पुरियो।

‘यी सब त भौतिक क्षतिहरू मात्र हुन्। यो भन्दा कयौं गुणा ठूलो त हामीलाई मानसिक त्रास भएको छ,’ बेथानचोक गाउँपालिकाका एक कर्मचारीले भने, ‘अब के गर्ने? कसो गर्ने? भनेर हामीले त सोच्न पनि सकेका छैनौँ। एउटा ठाउँमा मात्र क्षति भएको हो र! हाम्रो गाउँपालिकाभर क्षति नै क्षति भयो।’

पालिकाले उकेरालाई प्राप्त गराएको तथ्याङ्क अनुसार बेथानचोकमा मात्र १२ जनाले ज्यान गुमाए। एक जना भने अझै बेपत्ता छन्। छिमेकीले बताए अनुसार ती बेपत्ता भएका व्यक्ति पानीको भेल सँगै ढलमा खसेका थिए। ढल नै फोरेर ती व्यक्तिलाई खोज्ने प्रयास पालिकाले पनि गरेको रहेछ। तर उनलाई भेट्टाउन सकिएन।

छैन बिजुली
बेथानचोक गाउँपालिकामा छ वटा वडा छन्। यो समाचार तयार पार्दासम्म गाउँपालिकाको छ वटै वडामा गरेर १५ सय २० घरमा आंशिक क्षति भएको र छ सय २९ घर पूर्ण रूपमा ध्वस्त भएको विवरण पालिकाले उपलब्ध गराएको छ। त्यस्तै यहाँका तीन हजार सात सय १७ घर परिवार पहिरो र डुबानबाट प्रत्यक्ष प्रभावित भएका छन्।

प्रभावित भएकाहरू अधिकांश अहिले आफन्तसँगै छिमेकीको आश्रयमा बसिरहेको देखियो। १५ दिनदेखि पूर्ण रूपमा अन्य ठाउँसँग सम्पर्क बिच्छेद भएको यहाँ पालिकाले सबैभन्दा पहिले सडक सञ्चालन गर्नमा जोड दिएको देखियो। अहिले यहाँका सबै सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ। माथि डाँडासम्म कालोपत्र भइसकेका सडकहरू अहिले ठाउँ-ठाउँमा भत्किएर कच्ची भएका छन्।

यहाँका स्थानीय सरकार सडक खोल्नेतिर लाग्दा सबै वडामा अझै बिजुली र नेटवर्क भने पुग्न सकेको देखिएन। उकेराकर्मी यहाँको वडा नम्बर पाँचको कार्यालय च्यासिंखर्क पुग्दा कात्तिक २ गतेसम्म विद्युत आपूर्ति भएको थिएन।

यहाँका वडावासीहरू पर-परसम्म लडेका खम्बा उठाउनमा तल्लीन देखिए अनि विद्युत प्राधिकरणका कर्मचारीहरूसँग आफ्नो घर अगाडिको खम्बा उठाउन र विद्युत सञ्चालन गर्न आग्रह गरिरहेको देखियो।

पालिकाले हालसम्म निकाल्न सकेको विवरण अनुसार यस क्षेत्रमा ३७ हजार मिटर बिजुलीको तारमा क्षति भएकोमा ५७८ वटा बिजुलीको पोलहरू बिग्रिएको रहेछ। बजारभन्दा निकै पर रहेको यस वडामा भने अन्य वडाको तुलनामा ढिला बिजुलीको कार्य भएको देखियो।

बस्न नमिल्ने घरभित्र थप क्षति हुन नदिन सक्रिय जनजीवन 
घरभित्रको लेदो सुकेर पहाड बनेपछि गाउँलेहरू सब कुट्टो र कोदालो बोकेर खन्न व्यस्त देखिन्थे। उनीहरूलाई राहत लिन जाने समेत फुर्सद थिएन। स्थानीय राममाया तिमल्सिनाको परिवारका सबै सदस्य घरभित्रको लेदो बाहिर निकाल्दै थिए।

उनी भन्छिन्, ‘न खानु छ। न सुत्नु नै । हामी त घर सफा गर्नमै व्यस्त भयौँ । एउटाबाट निकाल्यो, अर्को ठाउँमा प्वाल परेको देखिन्छ। के गरेर हाम्रो घर जोगाउने होला! शहरबाट वर्ष दिनमा चाड मनाउन आउने छोराछोरी समेत यसैमा भुलिन परेको छ।’

खोलाले बाटो खोज्दै घरभित्रै बग्न थाले पनि यहाँ खानेपानीको भने समस्या भइसकेको छ। सधै सङ्ग्लो पानी आउने धाराबाट पनि यसपाली माटोको लेदोसहितको पानी आएको बताउछिन्, सुकुमाया थिङ।

‘खोला घरभित्र आयो। अनि धाराको पानी चैँ खोलाको जस्तै खाना नहुने आयो। यसरी नै फोहोर पानी खानपर्यो भने त हामी पहिरोमा पुरेर नमरे पनि हैजा लागेर मर्छ होला’, उनले भनिन्।

क्षतिको एकीन तथ्यांक संकलन गर्न समेत कठिनाइ भएको हुँदा अब कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने र के गर्ने भन्ने समेतमा गाउँपालिका अन्योलमा देखिन्थ्यो।

गाउँपालिकाकै भवनमा समेत क्षति भएको हुँदा लामो समयसम्म यसबारे बैठक बसेर निर्णय गर्न सकेको देखिएन। जसको कारणले वडा देखि पालिकाको नेतृत्वमा रहेका अधिकांश प्रतिनिधिहरू आ-आफ्नै ढंगबाट सक्रिय भइरहेका छन्।

तथ्यांक संकलन गर्नै सकस
पालिकाको क्षति बारेमा ठ्याक्कै विवरण संकलन हुन अझै केहि हप्ता लाग्ने यहाँका सूचना अधिकारी ज्ञान प्रसाद तिमल्सिना बताउँछन्।

‘सबैले अहिले हामीलाई विवरण र तथ्यांक उपलब्ध गराउन भनिरहेका हुन्छन्। तर अहिले गाउँमा तथ्यांक संकलन गर्न नै पनि हामीलाई गाह्रो भइरहेको छ,’ उनले भने, ‘हामीले पनि वडाबाट आएको तथ्यांकलाई नै आधिकारिक मान्ने हो। बल्ल-बल्ल केही वडामा बिजुली र नेटवर्क पुगेको भएर सम्पर्क गर्न सकिरहेका छौँ। सबै वडामा त अझै पनि बिजुली नै पुगेको छैन।’

सम्पर्क समेत गर्न असहज भइरहेको अवस्थामा कुन क्षेत्रमा कति क्षति भयो भनेर पत्ता लगाउन नसक्दा अन्य धेरै क्षेत्रहरु प्राथमिकतामा पर्ला कि नपर्ला भन्ने शंका समेत केही अधिकारीहरूमा देखियो। अहिले पूर्वाधारमा सडक र बिजुलीलाई प्राथमिकतामा राख्दा स्वास्थ्य तथा शिक्षामा भने सरोकारवालाहरूको ध्यान नजाला कि भनेर एक शाखा अधिकृतले उकेरालाई बताए।

बाढी पहिरो पछिको पहिलो कर्यतालिका बैठकपछि केही निर्णय हुन सक्नेमा उनी ढुक्क देखिए। जिल्ला प्रशासन कार्यालय धुलिखेलको विवरणमा पनि यहाँका कति खानेपानी, विद्युत्, सञ्चार र अन्य पूर्वाधारमा क्षति भयो भनेर देखिएन। अहिलेसम्म पालिकामा भएको मानवीय क्षति र पक्की १० किमी सँगै कच्ची ६ सय १७ सडक पूर्ण क्षति भएको बाहेक अन्य क्षतिको विवरण प्राप्त हुनै बाँकी रहेको देखियो।

प्रशासनसम्म पुगेको छैन क्षतिको विवरण 
जिल्लाको विपद सम्बन्धित आधिकारिक व्यक्ति तथा प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए अनुसार कहाँ कति क्षति भयो भनेर अझै पनि तथ्यांक आएको अवस्था छैन।

यसबाहेक प्रशासनले यहाँका ६० मृतक परिवारलाई दुई लाखका डरले राहत उपलब्ध दिइएको देखियो। बाँकी मृतक परिवार भने अझैसम्म पनि वडा र पालिकाको विवरणमा नआएको सापकोटाको भनाइ छ।

काभ्रेपलान्चोक जिल्लामा मात्र ७९ जना व्यक्तिले बाढीपहिरोका कारण ज्यान गुमाएको सरकारले केन्द्रबाट नै तथ्यांक सार्वजनिक गरिसकेको छ।

गृह मन्त्रालयले बाढीपहिरो र डुबानबाट बढी प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा विवरणमा बेथानचोक पनि एक हो। राहत तथा पुनर्निर्माणलाई प्राथमिकतासाथ अघि बढाउन भन्दै संकटग्रस्त घोषणा गरेको पालिकाहरुलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

गृहमन्त्री रमेश लेखक पालिकाहरूको स्थलगत भ्रमण गर्ने क्रममा पनौती नगरपालिका हुँदै बेथानचोक र रोशी गाउँपालिका पनि पुगेका थिए।

प्रशासनले १० जना कार्यालय प्रमुखहरूको संयोजनमा विपद् क्षेत्रमा पुग्नको लागि ‘क्लस्टर’ बनाएको छ भने राहत व्यवस्थापनको सहयोगका लागि समन्वय गरिरहेको छ। 

कात्तिक ४, २०८१ सोमबार १२:१९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।