साफ वुमन्स च्याम्पियनसिपमा आज नेपालले माल्दिभ्सविरुद्ध खेल्दै, साम्बाले खेल्ने सम्भावना

साफ वुमन्स च्याम्पियनसिपमा आज नेपालले माल्दिभ्सविरुद्ध खेल्दै, साम्बाले खेल्ने सम्भावना
फाइल तस्बिर

काठमाडौं : साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आज आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ।

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रहेको नेपाल दोस्रो खेलमा तीन अंक हात पार्न चाहन्छ।

जसका लागि राति १ बजे नेपाल आएकी सावित्रा भण्डारीलाई मैदान उतार्ने प्रशिक्षक राजेन्द्र तामाङको तयारी छ।

उनले भने, ‘राति १ बजे नेपाल आइपुग्छिन् सावित्रा। हामीले उनलाई खेलाउने सोचेका छौँ। त्यसका लागि उनी पनि तयार हुनुपर्छ। उनी तयार छिन् भने हामी स्क्वायडमा राख्छौँ।’

भुटानविरुद्धको खेलमा चोटग्रस्त भएका डिफेण्डर हिरा भुजेल र मिडफिल्डर दीपा शाहीले च्याम्पियनसिपको बाँकी खेल गुमाउने प्रशिक्षक तामाङले स्पष्ट पारे।

दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरकको रुपमा रहेकी सावित्राले युरोपमा लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी छिन्। उनले नेपालक लागि ४६ खेलमा सर्वाधिक ५३ गोल गरेकी छन्।

कात्तिक ४, २०८१ सोमबार ०७:४६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।