रविबारे सरकारी पक्षलाई न्यायाधीश दाहालको तीन प्रश्न : हिजो किन प्रतिवादी नबनाएको?, आजको आधार के?

रविबारे सरकारी पक्षलाई न्यायाधीश दाहालको तीन प्रश्न : हिजो किन प्रतिवादी नबनाएको?, आजको आधार के?

पोखरा : सहकारी ठगी र संगठित अपराधको आरोपमा रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न माग गर्ने सरकारी पक्षसँग इजलासमा न्यायाधीश नवराज दाहालले सवाल-जवाफ गरे।

आइतबार रविलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा सरकारी वकिल कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र सहायक न्यायाधिवक्ता विपिनराज तिवारीले बहस गरेका थिए।

उनीहरूले विभिन्न तर्कसहित रविमाथि थप छानबिन गर्नुपर्ने अवस्था रहेको भन्दै छानबिनका लागि न्यायिक हिरासतमा राख्न अनुमति पाउनुपर्ने तर्क गरेका थिए। उनीहरूको तर्क सुनेपछि न्यायाधीश दाहालले भटाभट उनीहरुलाई प्रश्नहरू राख्न थाले। 

उनको पहिलो प्रश्न थियो ‘रविलाई यस अगाडि सुर्दयर्शन सहकारी ठगीमा किन प्रतिवादी नबनाएको?’

जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला सरकारकी वकिलको कार्यालय हुँदै अदालतमा दायर भएको पहिलो अभियोग पत्रमा रविलाई प्रतिवादी बनाइएको छैन। पहिलो जाहेरीमा रविको नाम समेत छैन।

उनले दोस्रो प्रश्न सोधे ‘आज पक्राउ गरिएका प्रतिवादीको हकमा हिजो संलग्नता किन देखिएन?’

उनको तेस्रो प्रश्न थियो ‘कुन आधारबाट उहाँको संलग्नता देखियो र प्रतिवादी बनाउन पर्यो?’

न्यायाधीशबाट आफ्नो पक्षमा प्रश्नहरू आएपछि इजलासमा रहेका रवि केही प्रसन्न देखिएका थिए।

न्यायाधीशको प्रश्नपछि वादीको पक्षका कानुन व्यवसायीहरूले पहिलो पटक अनुसन्धान नसकिए पनि कानुनी सिमाना कारण अदालतमा अभियोग पत्र पेस गर्न हतार भएको तर्क गरेका थिए।

पहिलो अभियोग पत्र पेस गर्दा नै अनुसन्धान जारी रहेकोबारे उल्लेख गरेको र पहिलो अभियोग पत्र पेस गरेपछिको अनुसन्धानमा सूर्य दर्शन सहकारीबाटै भएको थप अपचलनको विवरण खुलेको, सर्भर फेला परेको, राज्यले संसदीय छानबिन समिति बनाएर प्रतिवेदन दिएको आधारहरू पेस गरेका थिए।

उनीहरूबाट आधारहरू पेस भएपछि रविको पक्षका वकिलहरूले भागेर नजाने र संसदीय समितिमा १७ पेज लामो बयान समेत दिइसकेको भन्दै रविलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आवश्यकता नै नरहेको तर्क गरेका थिए।

बहसकै क्रममा रवि आफैँले समेत न्यायाधीश समक्ष अनुमति मागेर आफ्नो धारणा राखेका थिए। उनले बाहिरी व्यक्तिहरूलाई इजलास बाहिर पठाएर इजलासमा प्रधानमन्त्री केपी ओलीको नामै लिएर आफ्नो पार्टी र आफूलाई सिद्ध्याउन राजनीतिक प्रतिशोधका कारण पक्राउ गरेको तर्क गरेका थिए।

सबै पक्षको बहस र तर्क सुनेपछि अन्तमा न्यायाधीश दाहालले पक्राउ परेको शुक्रवारदेखि गणना हुनेगरि रविलाई ६ दिन हिरासतमा राख्न अनुमति दिए अनि रविको मुहार मुर्झायो। प्रहरीले उनलाई गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय कास्की लग्यो। रविलाई छुटाउन दिनभर सडकमा धर्ना बसेर बसेकाहरू लाखापाखा लागे।

कात्तिक ३, २०८१ आइतबार २२:३६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।