मन्त्रालयको काम बुझ्दैमा स्वास्थ्य मन्त्रीको सय दिन बित्यो, उपलब्धिमा निर्देशन, निर्देशन र तयारी हावी

मन्त्रालयको काम बुझ्दैमा स्वास्थ्य मन्त्रीको सय दिन बित्यो, उपलब्धिमा निर्देशन, निर्देशन र तयारी हावी

काठमाडौँ : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा आएको आइतबार सय दिन पुग्यो। मन्त्रालयको जिम्मेवारी सुरु गरेकै दिन सरकारी अस्पताललाई लाइनविहीन बनाउने पपुलिस्ट घोषणा गरेका उनले पछि सच्याउँदै लाइन घटाउने बताएका थिए।

आइतबार मन्त्री पौडेलको सय दिनको उपलब्धि सार्वजनिक भयो। जसमा केही स्वास्थ्य सेवा विस्तारका विवरणहरू छन्। तर आशा लाग्दो तयारी भने देखिँदैन।

स्वास्थ्य मन्त्रालय सबैभन्दा धेरै खरिद अनियमिततामा जोडिँदै आएको छ। निर्देशक र मेडिकल सुपरिटेन्डेन्ट बनेका चिकित्सकहरू भ्रष्टाचारमा डुङडुङ गन्हाउन पनि मन्त्रालयले अनुसन्धान र अनियमिततामा संलग्नता अनुसारको दण्डित गर्न सकेको छैन।

आइतबार सार्वजनिक भएको विवरणमा उनले सबै अस्पतालमा आकस्मिक शल्यक्रिया समयमा नै गर्ने व्यवस्था मिलाइएको उल्लेख गराएका छन्।

वीर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाका लागि तीन महिनाभन्दा बढी कुर्नु नपर्ने व्यवस्था गरिएको सार्वजनिक भएको सय लिने उपलब्धिमा उल्लेख छ।    
यस अवधिमा मन्त्रालयले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको क्यान्सर नियन्त्रण रणनीति, २०३० स्वीकृत गरेको सय दिने उपलब्धिमा उल्लेख छ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल, सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा र भक्तपुर क्यान्सर अस्पताल, कोशी प्रदेशको कोशी अस्पताल र मधेस प्रदेशको नारायणी अस्पतालबाट सेवा विस्तार गरी सातै प्रदेशमा क्यान्सर सेवा विस्तार भएको उपलब्धिमा उल्लेख छ।

हरेक प्रदेशमा कम्तीमा एक अस्पतालबाट मुटु रोग उपचारको सेवा सुरु गरिने, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सहयोगमा सातै प्रदेशमा मुटुरोग सेवा विस्तार गर्ने क्रममा मधेस प्रदेश र गण्डकी प्रदेशमा सेवा सुरु भएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ।

सबै सङ्घीय अस्पतालमा दुई सिफ्ट बहिरङ्ग सेवा सञ्चालन गर्ने सरकारले निर्णय गरेको र सो अनुसार काम भइरहेको प्रगति विवरणमा उल्लेख गरिएको छ।

स्वास्थ्य मन्त्रालयको पहलमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा गर्भवती तथा सुत्केरी महिलाका लागि मानसिक स्वास्थ्य सेवाको ओपिडी र नवजात शिशुमा वंशाणुगत रोग पत्ता लगाउन ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु भएको सय दिने उपलब्धिमा उल्लेख छ।

सरकारले उपचार खर्च बेहोर्न नसक्नेको ज्वलनको निःशुल्क उपचार गर्ने निर्णय गरेको, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, कीर्तिपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालमार्फत ज्वलनको उपचारको व्यवस्था गरिने उपलब्धिको सूचीमा उल्लेख छ।

वीर अस्पतालमा पनि १५ शय्याको सुविधा सम्पन्न ज्वलन उपचार वार्ड सञ्चालनमा ल्याइएको उल्लेख छ। हाल सम्ममा १३ किसिमको औषधि उत्पादन गरी वितरण भएको सिंहदरबार वैद्यखानालाई थप स्तरोन्नति गरी कम्तीमा २० किसिमका आधारभूत आयुर्वेद औषधिको उत्पादन गर्ने सरकारको लक्ष्य रहेको विवरणमा उल्लेख छ।

थप सात वटा औषधि उत्पादन गर्न कच्चा पदार्थ प्राप्तिका लागि कार्यादेश भएको प्रगति विवरणमा उल्लेख छ।
सबै सङ्घीय अस्पताल फार्मेसीमा आवश्यक सबै किसिमका औषधिको उपलब्धता सुनिश्चित गर्ने, विगतमा औसत ६० प्रतिशत औषधि उपलब्ध हुने गरेकामा हाल ९० प्रतिशत औषधि उपलब्ध भएको र बिरामीको चापलाई कम गर्न विभिन्न अस्पतालमा ६ वटा थप फार्मेसी काउन्टरको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।    

सबै सङ्घीय अस्पतालमा बिरामीलाई समयमै उपचार दिन टोकन प्रणाली लागु गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।

उनका अनुसार स्वास्थ्य जनशक्तिको समुचित व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगबीच त्रिपक्षीय सम्झौता गरिएको छ।

देशभरका १४ सङ्घीय, ६ प्रादेशिक र ६० जिल्ला अस्पतालको औजार उपकरणको सर्वेक्षण गरी एकीकृत सूची तयार गरिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य बीमा कार्यक्रमको दायरा विस्तारसहितको पुनः संरचनाको प्रारूप तयार पार्न उच्चस्तरीय कार्यदल गठन भई कार्य भइरहेको प्रवक्ता डा बुढाथोकीले बताए।

मन्त्रालयको पहलमा महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्। 

देशभरमा तीन सय सिनेमा हलमा क्यान्सरसम्बन्धी जनचेतनामूलक श्रव्यदृश्य सन्देश प्रसारण गरिएको, तीन सय चार स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिएको, आठ हजार ६ सय ७८ महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग गरिएको, मुख स्वास्थ्य रणनीतिमा मुख क्यान्सरको स्क्रिनिङ समावेश गरिएको, स्तर क्यान्सरसम्बन्धी १५ भाषामा सामग्री उत्पादन गरी एक सय ८९ पटक रेडियोमा र ७० पटक टेलिभिजनमा प्रसारण गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ।

कात्तिक ३, २०८१ आइतबार २१:५५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।