खेल बराबरीमा टुङ्गिँदा पाकिस्तानसँग हारबाट जोगियो बंगलादेश
काठमाडौँ : साबिक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ मा पाकिस्तानसँग हारबाट जोगिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा बङ्गलादेशले पाकिस्तानसँग १–१ बराबरी खेलेको हो।
दशरथ रङ्गशालामा सम्पन्न खेलको २१ औँ मिनेटमा बङ्गलादेशकी ऋतु चक्माले बायाँ विंगबाट दिएको क्रसमा ६ यार्ड बक्सभित्र उनकै टोलीका ३ खेलाडीले बल छुन नसक्दा गोलको अवसर टर्यो।
२४ औँ मिनेटमा पाकिस्तानको गोल गर्ने अवसरमा गोलरक्षक रुपना चक्मा बाधक बनिन्। सुहा हिरानीले झन्डै ३५ यार्ड टाढाबाट गरेको प्रहारलाई रुपनाले मुस्किलले बाहिर पठाएकी थिइन्।
३२ औँ मिनेटमा पाकिस्तानले जाहमेना मालिकको गोलमा अग्रता लियो। रमिन फरिदले मिडफिल्डबाट दिएको लामो पासमा सिउली अजिमको ब्याकपास फितलो रहँदा जाहमेना पहिलो टचमै रुपना चक्मालाई बिट गर्दै गोल गरिन्।
४२ औँ मिनेटमा बङ्गलादेशकी ऋतुले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक निशा अशरफ बिट भए पनि क्रसबार बाधक बन्द बंगलादेश बराबरी गर्नबाट बन्चित भयो।
दोस्रो हाफमा पनि बङ्गलादेशले लगातार आक्रमण गर्यो तर गोल फर्काउन सङ्घर्ष जारी रह्यो। तर ७७ औँ मिनेटमा पाकिस्तानले अग्रता दोब्बर पार्ने अवसर भने गुमायो।
जाहमेनाको पासमा अफसाइड ट्र्याप बिट भएको अवस्थामा अमिना हनिफले वन भर्सेस वनमा गोल गर्न सकिनन्। गोलरक्षक रुपना चक्माले अघि बढेर उनलाई दोस्रो टच लिन दिइनन्।
योसँगै समूह ए मा रहेको पाकिस्तानले पहिलो अंक जोडेको छ। पहिलो खेलमा भारतसँग पाकिस्तान ५–२ ले पराजित भएको थियो। बंगलादेशको भने पहिलो खेल हो।
शीर्ष स्थानमा रहेको भारत एक खेलअगावै सेमिफाइनलमा पुगेको छ। यद्यपि, पाकिस्तानको भने सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै छ। यो समूहको अन्तिम खेलमा बङ्गलादेशले भारतको सामना गर्नेछ।
कात्तिक ४, २०८१ आइतबार २०:४७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।