भाटभटेनीसँग लिएको दानको विपक्षमा उभिएका दुई नेतालाई एमालेले सोध्यो स्पष्टीकरण

भाटभटेनीसँग लिएको दानको विपक्षमा उभिएका दुई नेतालाई एमालेले सोध्यो स्पष्टीकरण

काठमाडौँ : केन्द्रीय कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा दान लिएको घटनाको विपक्षमा धारणा राखेको भन्दै एमालेले दुई नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

महासचिव शङ्कर पोखरेलले यी दुवै नेतामाथि केन्द्रीय कार्यालय भवन निर्माणबारे पार्टीले गरेको निर्णय  विपरीत सार्वजनिक अभिव्यक्ति दिएकाले स्पष्टीकरण सोध्ने निर्णय भएको बताए।

‘उहाँहरूले के कति कारणले त्यस्तो बोल्नु भएको हो ? स्पष्टीकरण सोध्ने निर्णय भएको छ’, महासचिव पोखरेलले भने। पार्टीको निर्णय विरुद्ध निरन्तर विपक्षमा धारणा राख्दै आएका अर्का नेता भीम रावलसँग पनि स्पष्टीकरण सोध्ने बैठकले निर्णय गरेको छ।

असोज २४ मा गुरुङको कीर्तिपुरमा रहेको १० रोपनी १४ आना जग्गामा एमालेको केन्द्रीय कार्यालय बनाउन एमाले अध्यक्ष केपी ओली र गुरुङ दम्पतीले शिलान्यास गरेका थिए।

बालुवाटारको सरकारकी जग्गा व्यक्तिगत बनाएर अपचलन गरेको मुद्दामा दोषी ठहर भएका गुरुङसँग पार्टीका लागि जग्गा दान लिएर भवन बनाउने जिम्मा दिने पार्टीको निर्णयको विपक्षमा पाण्डे र तिमल्सिनाले सामाजिक सञ्जालमा लेखेका थिए।

कात्तिक ३, २०८१ आइतबार १९:४०:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।