निर्वाचनमा प्रतिस्पर्धा भए पनि विकासमा सबै दल एकै ठाउँमा रहेको खड्काको दाबी

निर्वाचनमा प्रतिस्पर्धा भए पनि विकासमा सबै दल एकै ठाउँमा रहेको खड्काको दाबी

सुर्खेत :  नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दलहरुबीच चुनावमा प्रतिस्पर्धा भए पनि विकासका लागि एकमत रहेको दाबी गरे।

भेरीगंगा उपत्यका आधुनिक शहर आयोजनाको कार्यालय भवनको शिलान्यास गर्दै उनले आइतबार भेरीगंगा आधुनिक शहरले पूर्ण रूपमा आकार लिन अझ २० वर्ष लाग्ने बताए।

नेपालमा परिकल्पना गरिएका ५० भन्दा बढी शहरमध्ये भेरीगंगा आधुनिक शहर सबैभन्दा ठुलो भूगोलमा भएकाले यसको विकासका लागि तीव्र गतिमा काम गर्न आयोजनालाई आग्रह गरे।

पछिल्लो समय निर्माणको प्रक्रियामा जाँदा शहरको आकार घटेकोले यसमा आयोजना कार्यालयले ध्यान दिनुपर्ने उनले बताए।

अहिलेको पुस्ताले भावी पुस्तालाई दिने नासोका रूपमा भेरीगंगा आधुनिक शहर भएकाले निर्माणको गतिलाई तीव्रता दिनुपर्नेमा खड्काले जोड दिए।

उनले सहरी आयोजनासँग समन्वय नगरी जथाभाबी बाटो निर्माण नगर्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरे।

‘नदीको किनारमा ठुला सडक खन्ने काम नगर्नुहोस्, बरु शहरी आयोजनासँग समन्वय गरेर हरियाली र सुन्दरता दिने काम गर्नुहोस्,’ खड्काले भने, ‘साना बाटो बनाउन अनुमति नदिनुहोस्, कम्तीमा १०० वर्षलाई पुग्नेगरि बाटो छोड्नुस्।’

नयाँ शहरभित्र सडक र अन्य पूर्वाधार कस्ता हुने भन्ने विषयमा प्रारम्भिक डिपीआर तयार भएकाले सोहीअनुसार अघि बढ्न स्थानीय तहका प्रमुखलाई आग्रह गरे।

सरकारले आर्थिक वर्ष २०७३-०७४ मा मध्य पहाडी राजमार्ग क्षेत्रमा १० नयाँ सहरसहित सुर्खेतको भेरी किनारका तीन वटा नगरपालिकालाई समेटेर भेरीगंगा उपत्यका नमुना आधुनिक शहर निर्माणको घोषणा गरेको थियो।

भेरी नदी वारी र पारीको ४ सय ६० वर्ग किलोमिटर क्षेत्रमा तीन वटा पालिकालाई समेटेर नयाँ शहर बनाइने तयारी छ। नयाँ सहर आयोजनाले गुर्भाकोट नगरपालिकाको मेहलकुनामा फिल्ड कार्यालय स्थापना गरेर काम गत वर्षबाट सुरु गरेको थियो।

भेरीगंगा उपत्यका नमुनाको आधुनिक शहर कर्णाली प्रदेशको प्रवेशद्वारमै पर्छ भने नयाँ शहरलाई रत्न राजमार्ग, मदन भण्डारी राजमार्ग र छिन्चु–जाजरकोट–डोल्पा सडक खण्डले घेरेको छ।

कात्तिक ३, २०८१ आइतबार १७:५४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।