रास्वपा कार्यकर्ताले विरोधी टिभी भन्दै प्राइमका पत्रकारमाथि हातपात गरे : पक्राउ गर्ने सरकार, रिस पोख्ने पत्रकारलाई

रास्वपा कार्यकर्ताले विरोधी टिभी भन्दै प्राइमका पत्रकारमाथि हातपात गरे : पक्राउ गर्ने सरकार, रिस पोख्ने पत्रकारलाई

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अदालतको आदेशमा सहकारी ठगीको आरोपमा पक्राउ परेको रिस पार्टीका कार्यकर्ताहरूले पत्रकारमाथि पोखेका छन्।

विरोध प्रदर्शनको रिपोर्टिङ गरिरहेको बेलामा रास्वपाका कार्यकर्ताहरूले ‘हाम्रो पार्टीविरुद्ध समाचार प्रसारण गर्ने यही टेलिभिजन हो’ भन्दै प्रत्यक्ष प्रसारणमा संलग्न प्राइम टिभीका पत्रकार नीरज तामाङ, अनिता घिमिरे र क्यामेरा पर्सन अर्जुन भण्डारीमाथि हातपात गरेका हुन्।

रास्वपाका समर्थकहरूले टेलिभिजनको क्यामेरा तोडफोडको प्रयास समेत गरेका थिए। उनीहरूले आन्दोलनमा नयाँ अनुहार देखेमा घुसपैठ भन्दै कुटपिट गर्ने गरेका छन्। आइतबार दुई जनालाई घुसपैठको आरोपमा कुटपिट गरेका थिए।

नेपाल पत्रकार महासङ्घले नागरिकलाई सुसूचित गराउन सञ्चारकर्ममा खटिरहेका पत्रकारमाथि पार्टीका कार्यकर्ताबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको उल्लेख गरेको छ।

‘यो घटनाले पत्रकारको र नागरिकको संविधानप्रदत्त अधिकारमा हस्तक्षेप भएको महासंघको ठहर छ। महासंघ घटनाको कडा शब्दमा भर्त्सना गर्दछ’ विज्ञप्तिमा उल्लेख छ।

महासङ्घले घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकारलाई निर्धक्क र निर्बाध रूपमा सञ्चारकर्ममा जुट्‌ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

कात्तिक ४, २०८१ आइतबार १७:१६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।