रविलाई ९० दिनसम्म हिरासतमा राख्न सक्छ प्रहरीले, पहिलो पटक कति दिनको अनुमति आउला?

रविलाई ९० दिनसम्म हिरासतमा राख्न सक्छ प्रहरीले, पहिलो पटक कति दिनको अनुमति आउला?
कास्की अदालतमा रवि।

पोखरा : संगठित अपराधको समेत आरोप लागेकाले कानुन अनुसार रवि लामिछानेलाई ९० दिनसम्म हिरासतमा राख्ने अनुमति पाउन सक्छ प्रहरीले।

अन्य अभियोगमा २५ दिन भए पनि संगठित अपराधमा भने अनुसन्धानका लागि हिरासतमा राख्न पाउने अवधि तीन महिनाको रहेको छ।

रविमाथि ठगीसँगै संगठित अपराधको आरोप समेत छ। तीन वा तीन भन्दा बढी व्यक्तिको मिलेमतोमा कुनै गम्भीर अपराध भएमा कानुनले त्यसलाई संगठित अपराध मान्छ। रवि शुर्यदर्शन सहकारीको ठगीमा समातिएका हुन्। यसमा १९ जना बढी प्रतिवादी छन्।

शुक्रवार काठमाडौँबाट पक्राउ गरेर कास्की लगिएका रविलाई प्रहरीले आइतबार जिल्ला अदालत कास्कीमा पेस गरिसकेको छ। पहिलो चरणमा प्रहरीले पाँच दिनको म्याद मागेको छ। पाँच दिनको म्याद पाएमा रविको हिरासतको गणना शुक्रवारबाट सुरु हुनेछ।

त्यसका आधारमा आइतबारै हिरासतको गणना तीन दिनहुन्छ। पाँच दिन मात्र म्याद पाएमा पुन मङ्गलवार म्याद थपको अनुमति माग्नुपर्ने हुन्छ।

लामिछानेलाई हाजिर जमानीमा वा धरौटीमा वा हिरासतमा के गर्ने भन्नेबारे कास्कीमा न्यायाधीश नवराज दाहालको इजलासमा बहस भइरहेको छ।

सरकारी पक्षले पाँच दिनको न्यायिक हिरासतको माग गरिरहेका छन् भने लामिछाने वकिल वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता नारायणदत्त कँडेल, नारायण घिमिरे लगायतले भने सरकारी पक्षले अनुसन्धान गरिसकेको र उनी कहिकतै भाग्ने वा प्रमाण नष्ट गर्न सक्ने अवस्था नभएको भन्दै हाजिर जमानीमा छाड्न माग गरिरहेका छन्।/

कात्तिक ३, २०८१ आइतबार १६:३३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।