डीपी अर्यालको कमान्डमा पोखरामा रास्वपा आन्दोलन, अन्य जिल्लाका कार्यकर्तालाई कास्कीमा बोलाइयो

डीपी अर्यालको कमान्डमा पोखरामा रास्वपा आन्दोलन, अन्य जिल्लाका कार्यकर्तालाई कास्कीमा बोलाइयो
आन्दोलनमा सहभागी रास्वपा सांसद तोसिमा कार्की।

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको पोखरा केन्द्रित आन्दोलनको नेतृत्व पार्टी उप सभापति डीपी अर्यालले गरिरहेका छन्।

शुक्रवार बेलुका प्रहरीले रविलाई पक्राउ गरेर काठमाडौँबाट कास्की लगे लगत्तै डीपीसहितका नेता समेत शनिवार पोखरा पुगेका थिए। शनिवार काठमाडौँ र पोखरामा एकै दिन आन्दोलन चर्काउने प्रयास भएको थियो।

पोखराको पृथ्वीचोक र काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शन भयो। दुबैतिर प्रदर्शन गर्दा प्रभावकारी नहुने भन्दै रास्वपाले रणनीति बदल्दै आन्दोलन पोखरा केन्द्रित बनाएको छ।

सोही रणनीति अनुसार आइतबार पोखरामा मात्र प्रदर्शन भइरहेको छ भने पार्टी नेताहरूले विभिन्न जिल्लामा रहेका नेता तथा कार्यकर्ताहरूलाई पोखरा बोलाइरहेको छ।

पोखरामा अहिले डिपीसँगै उपाध्यक्ष स्वर्णिम वाग्ले, मनिष झा, तोसिमा कार्की लगायतका नेताहरू छन्। उनीहरू आन्दोलनको व्यवस्थापनमा सडकमै सक्रिय देखिन्छन्।

रविलाई अनुसन्धानका लागि कति दिन हिरासतमा राख्नेबारे कास्की जिल्ला अदालतमा प्रहरीले पेस गरिसकेको छ। संगठीत अपराधको समेत आरोप भएकाले प्रहरीले छानबिनका लागि तीन महिना अर्थात ९० दिनसम्म हिरासतमा राख्ने अनुमती पाउन सक्छ। पहिलो पटक ५ दिनको म्याद मागेको छ। अदालतबाट न्यायिक हिरासतमा राख्ने दिन तोकिसकेको छैन।

कात्तिक ३, २०८१ आइतबार १६:२१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।