निषेधित क्षेत्र तोड्न खोज्दा पानीको फोहरा, आन्दोलनमा दमन भएको रास्वपा नेताको दाबी

निषेधित क्षेत्र तोड्न खोज्दा पानीको फोहरा, आन्दोलनमा दमन भएको रास्वपा नेताको दाबी
प्रदर्शनकारीलाई निषेधित क्षेत्रमा प्रवेश गर्नबाट रोक्न राखिएको पानीको फोहरा फाल्ने सवारीसाधन। तस्बिर : रासस

पोखरा : स्थानीय प्रशासनले प्रदर्शन गर्न रोक लगाएको पृथ्वी चोकमा विरोध प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्तालाई हटाउन प्रहरीले पानीको फोहोरासँगै लाठी चार्ज गरेर तितरबितर बनायो।

प्रहरीको हस्तक्षेपपछि रास्वपा सांसद डा. तोसिमा कार्कीले प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको दाबी गरिन्।

आइतबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज र पानीको फोहोरा प्रहार गर्नु शान्तिपूर्ण आन्दोलनलाई दमन गरेको दाबी गरिन्।

‘पानीको फोहोरा प्रहार गर्नु, लाठी चार्ज गरेर शान्तिपूर्ण  आन्दोलनको दमन गर्नु जायज छैन,’ उनले भनिन् ‘भुईँमा बसेर शान्तिपूर्ण  तरिकाले आन्दोलन गरिराख्दा जसले विधिको शासन जोगाउनुपर्ने , सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै यसरी दमन हुन्छ भने हामी विधि भन्दा बाहिर गएको शासनलाई विधिभित्र ल्याउने काम गर्नेछौँ।’

उनले बन्द भएका नाकाहरू तत्काल प्रहरी प्रशासनले खोल्नुपर्ने माग गरिन्। उनले आन्दोलनमा प्रहरी प्रशासनबाट घुसपैठ भएको दाबी समेत गरिन्।

कात्तिक ३, २०८१ आइतबार १६:०३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।