प्रदर्शन अराजक बन्दै गएपछि रविका समर्थकमाथि पानीको फोहोरा

प्रदर्शन अराजक बन्दै गएपछि रविका समर्थकमाथि पानीको फोहोरा
पोखरामा भेला भएका रास्वपा कार्यकर्ता र पानीको फोहोरा फ्याक्दै प्रहरी । तस्बिर : नेपाल न्युज बैंक

पोखरा : पोखरामा रास्वपा सभापति रवि लामिछाने पक्राउको विरोधमा जारी आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। रास्वपाका नेता तथा कार्यकर्ताहरू स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेको स्थानमा प्रवेश गर्न खोजेपछि प्रहरीले पानीको फोहरासहित हस्तक्षेप गरेको हो। 

लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कास्कीले आइतबार पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी गरेको थियो। निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका रास्वपा नेताकार्यकर्तालाई प्रहरीले हटाउन खोज्दा प्रदर्शनकारीले अस्वीकार गरेपछि प्रहरीले पानीको फोहरा हानेको थियो।

पोखराको  शुर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोपमा ठगी र संगठित अपराधमा अनुसन्धान गर्न प्रहरीले रविलाई शुक्रवार काठमाडौँमा पक्राउ गरेर पोखरा पुर्याएको थियो। उनलाई  पोखरा लगेपछि शनिवारबाट रास्वपाका नेता तथा कार्यकर्ताहरू विरोध प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरूले एकातिर अनुसन्धानमा कानुनलाई सघाउने दाबी गरिरहेका छन्। अर्कोतिर पक्राउको विरोधमा आन्दोलन अराजक बनाउने प्रयास गरिरहेका छन्। प्रहरीले रविलाई न्यायिक हिरासतमा राख्ने अनुमतिका लागि आइतबार जिल्ला अदालत कास्कीमा पेस गरिसकेको छ।

कात्तिक ३, २०८१ आइतबार १५:४०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।