पोखरामा रोचक प्रदर्शन : एकातिर रविलाई कारबाहीको माग गर्दै सहकारी पीडित, अर्कातिर रास्वपा कार्यकर्ता

पोखरामा रोचक प्रदर्शन : एकातिर रविलाई कारबाहीको माग गर्दै सहकारी पीडित, अर्कातिर रास्वपा कार्यकर्ता
तस्बिर : अनलाइनखबर

काठमाडौं : सहकारी ठगी प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउविरूद्ध आनदोलन चर्किने देखिएपछि कास्की प्रशासनले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेपनि विरोध तथा प्रदर्शनका गतिविधि भइरहेका छन्। 

शहीदचोक आसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको छ। तर, अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि लामिछाने पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन्। 

सभापति लामिछाने पक्राउ परेपछि त्यसको विरोधमा रास्वपा कार्यकर्ता कालोपट्टी बाँधेर सडकमा उत्रिएका हुन्। निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपा कार्यकर्तालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ। 

त्यसअघि रास्वपाले प्रत्येक जिल्लाबाट कम्तिमा पनि एक सय जना कार्यकर्तालाई पोखरामा उपस्थित भएर विरोध प्रदर्शन गर्न सर्कुलर जारी गरेको छ। सभापति लामिछानेलाई सरकारले प्रतिशोध साँध्न पक्राउ गरेको उनीहरूको आरोप छ। 

लामिछानेलाई जिल्ला अदालतमा म्याद थपका लागि लगिएको छ। त्यसका लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। 

सहाराकी पीडित पनि आन्दोलनमै !
कडा सुरक्षा व्यवस्था अपनाइएको जिल्ला अदालत कास्की वरिपरि सहकारी पीडित पनि सडकमा उत्रिएका छन्। सहकारी ठगीको आरोप लागेका लामिछानेलाई कारबाहीको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। 

उनीहरुले आफूहरूले सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै सडकमा निस्किनुपरेको बताए।

'हाम्रो रकम फसेको छ, बाहिरी जिल्लाबाट आएर हामीमाथि नै दबाब दिने को हो? भन्दै पीडितहरू सडकमा निस्किएका हुन्। उनीहरुले त्यसक्रममा उनीहरूले रास्वपा कार्यकर्तालाई रविलाई बचाउन राजनीतिकरण गरिएको भन्दै आक्रोश जनाए। 

सहकारी पीडितहरूले यसअघि पनि लामिछानेलाई पक्राउको माग गर्दै पोखरामा प्रदर्शन गर्दै आएका थिए।  

कात्तिक ४, २०८१ आइतबार १३:१८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।