पोखरामा शहीद चोक आसपास निषेधाज्ञा, रास्वपा कार्यकर्ताले निशेषित क्षेत्र तोडेपछि स्थिति तनावग्रस्त
काठमाडौं : जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी रहेको जनाएको छ। सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा आज जारी निषेधाज्ञासम्बन्धी सूचनामा सहिदचोकको पूर्वपट्टि वाइचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोकस र ग्रैहापाटनको पालिखेचोकबाट नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभालगायत विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।
तर, निषेधाज्ञा तोडेर रास्वपा कार्यकर्ताले प्रदर्शन तथा नाराबाजी गरिरहेका छन्। निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान पोखरा पुर्याइएको थियो।
उनलाई आजै अदालत सामु उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
कात्तिक ३, २०८१ आइतबार १२:५५:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।